काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गरेका छन् ।
भेटमा उनीहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको बताइएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटवार्तामा गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत् सहयोग आदान–प्रदानमा थप समन्वय तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने बताए ।
उनले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिए । भेटका क्रममा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार नियन्त्रणको समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
उनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टीकृत तालिम उपलब्ध गराउन आवश्यक स्रोत व्यवस्थापनका लागि भारत तयार रहेको बताए ।
FACEBOOK COMMENTS