काठमाडौँ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयमा पत्र पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद् सचिवालयमा पठाएको पत्रमा लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको छ ।
पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा चन्द्रकान्त लामिछानेको नाति, लालाचन्द्र लामिछाने र नन्द कुमारी लामिछानेको छोरा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध महाकाल स्थायी वतन भई हाल जिल्ला काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं ८ हात्तिगौडा बस्ने चितवन जिल्ला क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१-०९-०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र (दर्ता नं २०८१–अ०४३५) दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको च नं १४६३ मिति २०८१-०९-०७ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त पत्र यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।’
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए ।
FACEBOOK COMMENTS