काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार चिवतनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उनले लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफूहरू सधैँ प्रतिबद्ध रहने बताएका हुन् ।
मुलुकमा आएको परिवर्तन र उपलब्धि विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उनले उल्लेख गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।
उनले विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको बताए । लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने उनले प्रतिबद्धता व्यक्त गरे ।
