हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनपछि म्याद थपको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
आज शुक्रबार हेटौँडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नियमावली संशोधनका लागि सरकारलाई धन्यवाद दिँदै राज्यले हठात् बिनाबजेटका योजनाहरू घोषणा गर्दा निर्माण उद्योग अस्तव्यस्त भएको बताए ।
व्यवसायीहरूले पाउनु पर्ने रकम भुक्तान भएमा अर्थतन्त्र चलायमान हुने भन्दै उनले गुणस्तरीय विकास निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरू तयार रहेको बताए ।
यस्तै, प्रतिनिधि सभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले प्रधानमन्त्री दाहालको नेतृत्वमा निर्माण उद्योगमा विद्यमान चुनौति समाधान हुनेमा आफू आशावादी रहेको बताए ।
कार्यक्रममा महासंघका सल्लाहकार एवम् पूर्व अध्यक्ष जयराम लामिछानेले स्वतन्त्र रुपमा निर्माण व्यवसायीहरूले काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्ने धारणा व्यक्त गरे । निर्माण व्यवसायीलाई ‘ठेकेदार’ भन्ने शब्द खारेज गर्न उनले माग गरेका छन् ।
यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले अत्यधिक संख्यामा रहेका साना निर्माण व्यवसायीहरूको समस्याप्रति राज्यको ध्यानाकर्षण गराउँदै मूल्य समायोजन, भुक्तानी व्यवसायीहरूको मुख्य माग रहेको बताए ।
यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले राज्यले निर्माण उद्योगलाई प्राथमिकतामा राखेको भान आफूलाई भएको बताए भने निर्माण व्यवासयी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले साधारण सभाको आयोजनबाट मकवानपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
साधारण सभामा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासंघको मुखपत्र ‘निर्माण विशेषांक’ को विमोचन गर्नुका साथै अग्रज निर्माण व्यवसायीहरू धुव्र कार्की र रोशनकुमार श्रेष्ठलाई सम्मान गरे । महासंघको दुई दिने साधारण सभा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न हुने छ ।
सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
निराशाको खेती गरेर देश बन्दैन, अर्थतन्त्र उकास्न निर्माण उद्योगको भूमिका महत्वपूर्ण : चन्द्र ढकाल
FACEBOOK COMMENTS