काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।
लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।
‘हामी सकारात्मक छौँ । तपाईंहरू मिलाउन लाग्नुस् । हामी मिल्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ गुरुङले अनलाइनखबरसँग भने, ‘यदि सबै सकारात्मक भए रास्वपा मिल्नका लागि तयार रहेको र त्यसका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।’
यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।
‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्,’ रविलाई उद्धृत गर्दै गुरुङले भने ।
रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए । ‘न्यायलयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्यो भनेर हामीले पहल गर्छौँ भन्यौँ,’ गुरुङले भने ।
त्यसबाहेक रविले जेनजी आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।
योसँगै बालेन र कुलमानको भेटघाटमा पनि आफूले सहजीकरण गरेको दाबी गुरुङले गरे ।

FACEBOOK COMMENTS