काठमाडौँ । पुराना मञ्च, नयाँ तरंग नेपाली राजनीतिका पारम्परिक मञ्चहरू आजभोलि कम चर्चामा छन् भने सामाजिक सञ्जालका ‘फिड’ हरूमा ‘नयाँ’ र ‘परिवर्तन’ को चर्चा चुलिएको छ ।
वर्षौंदेखिको भागबण्डाको राजनीति र अपारदर्शी गठबन्धन संस्कृतिले आम नागरिकमा चरम निराशापछि फागुन २१ गतेको मतदानबाट आफ्नो असन्तुष्टि पोख्ने संकेत देखिएको छ । यही निराशालाई चिर्न उदाएका नयाँ शक्तिहरूले केवल अनुहार मात्र फेरेका छैनन्, राजनीति गर्ने शैली नै बदलिदिएका छन् । पुराना दलप्रतिको तीव्र आक्रोशलाई नयाँ शक्तिहरूले कसरी आफ्नो पुँजी बनाइरहेका छन् र यो परिवर्तनले कस्तो चुनौती पेश गरेको छ ? भन्ने विश्लेषण गरौँ ।
नेपाली राजनीतिमा ‘घन्टौ चल्ने पट्यारलाग्दा भाषण’ अब इतिहास बन्दै गएका छन् । पुराना नेताहरूले मञ्चमा उभिएर गर्ने लामा र अर्थहीन गफको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको ‘छोटो र कम बोल्ने’ शैली एउटा शक्तिशाली राजनीतिक अस्त्र बनेको छ ।
आजको ‘जेनजी’ पुस्ता, जसको ध्यान खिच्न कठिन छ, उसले परिणाममुखी र संक्षिप्त संवाद खोजिरहेको छ । बालेनको यो मितभाषी शैलीले परम्परागत राजनीतिको ‘गफ गर्ने’ संस्कृतिलाई मात्र विस्थापित गरेको छैन, बरु ‘काम गर्नेले धेरै बोल्दैन’ भन्ने नयाँ भाष्य स्थापित गरिदिएको छ । सञ्चारको यो नयाँ र छरितो शैलीले पुराना दलहरूलाई आफ्नो सञ्चार रणनीतिबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।
‘बालेन क्रेज’ र रवि लामिछानेको डिफेन्सिभ अवस्थाले नेपाली राजनीतिलाई अहिले ‘हेलो इफेक्ट’ कति प्रभावशाली हुन्छ भन्ने उदाहरण बालेन शाह र रवि लामिछानेको सम्बन्धमा देखिएको छ । बालेन शाहको राष्ट्रिय स्तरको ‘क्रेज’ र लोकप्रियताले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि एउटा बलियो सुरक्षा कवचको काम गरेको छ ।

अदालतमा विचाराधीन रहेको सहकारी ठगी जस्तो गम्भीर मुद्दाले रवि लामिछानेको छवि ‘धमिलो’ बनाए पनि बालेनको उपस्थितिले त्यसलाई ओझेलमा पार्न मद्दत पुऱ्याएको छ । बालेनको लोकप्रियताको लहरमा समाहित हुँदा रविका कमजोरीहरूलाई मतदाताले कम प्राथमिकता दिएको देखिन्छ ।

यद्यपि यी दुई शक्तिहरू अहिले एउटै डुङ्गामा चढेका देखिन्छन्, तर दुवैको ‘अल्फा’ पर्सनालिटी र बढ्दो राजनीतिक महत्त्वाकांक्षाका कारण भविष्यमा यी दुईबीच ‘पर्सनालिटी क्र्यास’ हुने सम्भावनालाई नकार्न सकिँदैन ।

भदौ २३ र २४ को आन्दोलन नेपाली राजनीतिको एउटा यस्तो मोड बन्यो, जहाँबाट नयाँ शक्तिहरूले युवा पुस्ताको भावनालाई पूर्ण रूपमा आफ्नो पक्षमा मोड्न सफल भए । विशेषगरी सामाजिक सञ्जालको आक्रामक प्रयोगले ‘पुराना दल र नेता विरोधी’ मनोविज्ञानलाई एउटा संगठित शक्तिको रूपमा खडा गरिदिएको छ । सामाजिक सञ्जाललाई केवल सूचनाको माध्यम नभई युद्धमैदानको रूपमा प्रयोग गरेर उनीहरूले ‘पुराना दलहरू सबै खराब हुन्’ भन्ने भाष्य निर्माण गरेका छन् । यो डिजिटल लहरले परम्परागत दलहरूको पुरानो संगठन विस्तारको शैलीलाई एउटै ‘भाइरल’ भिडियोको भरमा परास्त गर्ने सामर्थ्य राख्छ ।

सुशासनको नारा र मौनताको विरोधाभास नयाँ राजनीतिको सबैभन्दा ठूलो विरोधाभास ‘सुशासन’ को मुद्दामा देखिएको छ । एकातर्फ यी शक्तिहरू सुशासन र पारदर्शिताको चर्को नारा लगाउँछन्, तर अर्कातर्फ आफ्नै नेतृत्वमाथि उठेका प्रश्नहरूमा रहस्यमय मौनता साँध्छन् ।

सहकारी ठगी जस्ता संवेदनशील मुद्दामा रवि लामिछानेमाथि प्रश्न उठ्दा बालेन शाह वा रास्वपाको नेतृत्वले देखाएको मौनताले एउटा गम्भीर नैतिक प्रश्न खडा गरेको छ र उनीहरुले यसलाई पुराना दल र नेताहरुले प्रतिशोध साधेको रुपमा ब्याख्या गरेर उम्किने प्रयास गरिरहेका छन् । यसरी विवादित व्यक्तिहरूले गरेको सुशासनको कुरा साच्चै कार्यान्वयन होला त ? भन्नेमा प्रश्न उठिरहेको छ । अर्कोतर्फ सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिनुको साटो मौन रहनु वा त्यसलाई छल्नुले यी नयाँ शक्तिहरू पनि कतै पुरानै प्रवृत्तिको सिको त गर्दै छैनन् भन्ने आशंका जन्माएको छ ।
डिजिटल आक्रामकता र ‘हामी मात्र ठिक’ भन्ने सोच लोकप्रियतावादको सहारा लिँदा देखिने सबैभन्दा ठूलो चुनौती ‘नीतिगत अस्पष्टता’ र ‘असहिष्णुता’ हो । सामाजिक सञ्जालमा हुने गालिगलौज र आफ्ना समर्थकहरू मार्फत विरोधीहरूको अस्तित्वलाई नै अस्वीकार गर्ने प्रवृत्ति नयाँ शक्तिहरूमा देखिएको छ । उनीहरूमा देखिएको यो प्रवृत्ति निकै घातक हुन सक्ने देखिन्छ ।
यस्तो सोचले लोकतान्त्रिक बहसको ठाउँ साँघुरो बनाउँदै लगेको छ । केवल लोकप्रियताको भरमा अघि बढ्दा दीर्घकालीन नीति र योजनाहरू के हुन् भन्ने कुरा अझै ओझेलमै छ ।
नेपाली राजनीतिमा देखिएको यो नयाँ तरंगले पुराना दलहरूलाई आत्मसमीक्षा गर्न र सुध्रिनका लागि एउटा अन्तिम चेतावनी त दिएको छ, तर नयाँ शक्तिहरू आफैं पनि प्रश्नमुक्त छैनन् । उनीहरूको उदय नेपाली जनताको साँचो आशाको किरण हो कि केवल पुराना दलप्रतिको क्षणिक आक्रोशले जन्माएको एउटा अर्को भ्रम ?
अन्त्यमा, एउटा गम्भीर चिन्तन आवश्यक छ, के यी नयाँ शक्तिहरूले परम्परागत दलहरूलाई सुध्रिन बाध्य पार्लान् वा समयक्रममा आफैं पनि त्यही शक्ति र सत्ताको पुरानै चक्रको नयाँ र परिष्कृत संस्करण मात्र बन्लान् ? यसको फैसला आगामी निर्वाचन र उनीहरूले सार्वजनिक जवाफदेहिताप्रति देखाउने सम्मानले नै गर्नेछ ।
FACEBOOK COMMENTS