काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ।
नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ।
उद्योगकाे चैत्र १३ गते एक भव्य उद्घाटन समारोहको आयोजना गरिएको थियो। उद्घाटन प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले गरेका थिए।
हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ। यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रूपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ। एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ।
आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ। लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पुर्याउनेछ।
नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिट्मस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनीतिक फड्को हो। यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ। कच्चा पदार्थमा स्थानीय रूपमा मूल्य संवद्र्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्गचित्रसँग पूर्णतः मेल खान्छ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको छ। देशको पूर्वाधार विकासमा योगदान पुर्याउँदै, लिट्मसले अन्तर्राष्ट्रिय स्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगमा विश्वास र प्रगति फैलाउँदै आएको छ।
FACEBOOK COMMENTS