काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करूणा’ लोकार्पण भएको छ ।
आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तककोलोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताए ।
पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकाली-ओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।
‘न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थेँ । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ,’ लेखिका शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ । मैले केपी ओलीसँग करूणाले बिहे गरेँ ।’
FACEBOOK COMMENTS