काठमाडौं । जनकपुर–जयनगर र जनकपुर–कुर्था–बर्दीबास–निजगढ रेलमार्ग खण्डमा विभिन्न समस्या रहेको पाइएको छ । निर्माणमा खटिने कामदारले समयमै भुक्तानी नपाउनेदेखि ट्र्याकबेड निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र रेलवेको उचाइले गर्दा जग्गा अतिक्रमण भएको लगायत समस्या देखिएको छ ।
भदौ पहिलो साता जनकपुर–जयनगर र जनकपुुर–कुर्था–बर्दीबास–निजगढ खण्डको स्थलगत अवलोकन भ्रमण गरेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको प्रतिवेदनले एक दर्जनभन्दा बढी समस्या देखाएको हो । बर्दीबासमा पुल बनाउन जग्गा अधिग्रहण, रौतहटमा पर्ने २२ दशमलव ५४ किलोमीटरमा ऐलानी जग्गा, मुआब्जा वितरण र वन कटानीमा ढिलाइ जस्ता समस्या पनि प्रतिवेदनले औंल्याएको छ ।
सर्लाहीमा ३० किलोमीटरको ट्र्याकबेड निर्माणमा पनि ऐलानी, सामुदायिक वनजस्ता समस्या देखिएको छ । यसले निर्माणमै अवरोध भएको छ । महोत्तरीमा निर्माणाधीन १८ किलोमीटरको ट्र्याकबेडमध्ये ३ दशमलव १ किलोमीटरमा ऐलानी जग्गाकै कारण समस्या आएको छ ।
यो खण्ड निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले स्थानीय ससाना निर्माण व्यवसायीलाई कामको जिम्मा दिएको, ट्र्याकबेड निर्माणमा गुणस्तर परीक्षण नगरिएको र रोलरले थिच्ने काम पनि प्रभावकारी नभएको बताइएको छ ।
समिति सभापति कल्याणीकुमारी खड्का नेतृत्वको संसदीय टोलीले भदौ ५, ६ र ७ गते यो खण्डको स्थलगत अवलोकन गरेको थियो । रेलमार्गको काम बीचैमा छाडिदिँदा गुणस्तरमा ह्रास आएको, कामदारले समयमै ज्याला भुक्तानी नपाएको, निर्माण सामग्री समयमै सहज रूपमा नपाएको जस्ता समस्या पनि प्रतिवेदनले औंल्याएको छ ।
यस्तै रेलमार्गबाट पानी निकास गर्ने कल्भर्ट निर्माणमा ध्यान नदिएको, दायाँबायाँका खेतीयोग्य जमीन र बस्ती डुवानको समस्या पनि देखिएको प्रतिवेदनमा उल्लेख छ । समितिले आइतवार सार्वजनिक गरेको उक्त प्रतिवेदनमा निर्माण सामग्री गुणस्तरीय नभएको र रोलरले थिच्ने कार्य प्रभावकारी नभएको उल्लेख आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS