वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्राथमिकताका आधारमा चाहिँदो मात्र विकासका योजनाहरू माग गर्न नागरिकस्तरमा अनुरोध गरेका छन् ।
आइतबार गोविन्दपुर हुँदै हस्वा जाने छोटो तर महत्त्वपूर्ण रणनीतिक सडक शिलान्यास गर्दै उनले महत्त्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गरेका हुन् ।
एक हजार २३६ मिटर लामो सो सडक शिलान्यास गर्न पर्साको महत्त्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिका पुगेका मन्त्री गुप्ताले भने, ‘धेरै भारी बोके बिचैमा छोड्नुपर्ने हुन्छ । त्यसैले विकासका आयोजना आवश्यकता र महत्त्व हेरेर माग गर्नुपर्ने हुन्छ ।’
महत्त्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्ने र त्यसलाई सम्पन्न गरिसकेपछि मात्रै अर्को योजनाको काम अघि बढाउनुपर्ने मन्त्री गुप्ताको भनाइ छ ।
धेरै मागेर योजना अपूरो छोड्नुभन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू हामीले देखिरहेका छौँ । सोही कारण तीनै तहका सरकारप्रति नागरिकको नैराश्यतासमेत बढेको छ । नागरिकमा रहेको निराशा हटाउन र बजेटको सही सदुपयोग गरेर जनतालाई लाभान्वित तुल्याउन पनि प्राथमिकताका आधारमा अति आवश्यक कामहरू पहिला र सुरू गरिएका योजना समयमै सम्पन्न गर्नेतर्फ हामी केन्द्रित हुन जरूरी छ ।’
मन्त्री गुप्ताले नागरिक आफ्नो कूलदेवताको मूर्तिदेखि सामुदायिक भवनलगायत भौतिक संरचनाहरू पनि सरकारले नै बनाइदियोस् भन्ने आशामा बसेको भन्दै ती सबै कुरामा सरकारको मात्रै मुख ताक्न नहुने तर्क गरे ।सबै काम सरकारले गर्छ, हामीले केही गर्नुपर्दैन भन्ने मानसिकताबाट नेपाली समाज माथि उठ्नुपर्ने उनको भनाइ छ ।
संघीय सरकारको लगानीमा निर्माण हुने गोविन्दपुर हुँदै हस्वा जाने सो सडक निर्माणपछि पोखरिया आउन तिवाले पुल हुँदै बिन्दबासिनी पुग्न नपर्ने मन्त्री गुप्ताले बताए । ‘त्यसकारण रणनीतिक रूपमा पनि यो सडक स्थानीयवासीका लागि महत्त्वपूर्ण छ,’ मन्त्री गुप्ताले भने ।
९३ लाख रूपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नुपर्ने छ ।
पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS