काठमाडौं । घुस डिल गरेको आरोप लागेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
आज मङ्गलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै मन्त्री गुप्ताले आफू नखाएको विषको शिकार भएको बताएका छन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–
विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनून् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु ।
मन्त्री गुप्तामाथि गत वर्षको पुस/माघमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
त्यस्तै, उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।
याे पनि पढ्नुहाेस्
‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वय खेम र सुजनले भने- सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्
FACEBOOK COMMENTS