काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।
आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गदै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरेका छन् ।
‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ,’ उनले भने, ‘प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’
सरुवा र नियुक्तिलगायत विषयमा ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता आशयका समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्याएको उनको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको जनाउँदै मन्त्री गुप्ताले आफ्नोविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई नै विभिन्न पाँचवटा प्रश्न तेर्स्याउँदै उत्तर खोज्न आग्रह गरेका छन् ।
के–के हुन् ती प्रश्न ?
१. बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाब दिने को हुन ?
२. नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन ।
३. नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? कुन अवस्थामा छ ? मलाई थाहा छैन ।
४. प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन । अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?
५. अडियोमा समावेश आवाज मेरो होइन । सूचना प्रविधिको दुरुपयोग गरी निर्माण गरिएको हुन सक्छ । त्यसको कसले पुष्टि गर्ने ?
मिडिया जगतप्रति सम्मान
यसै सन्दर्भमा मन्त्री गुप्ताले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिताको क्षेत्रप्रति आफ्नो सधैँ सम्मान र उच्च विश्वास रहँदै आएको पनि बताएका छन् । तर, मिडियाले गम्भीर विषयमा तथ्यको परीक्षणसहित समाचार सम्प्रेषण गर्दा उपयुक्त हुने धारणा उनको छ । त्यसकारण सत्यको खोजीमा केन्द्रित हुन सबै सञ्चारमाध्यमलाई उनले आग्रहसमेत गरेका छन् ।
निष्पक्ष, प्रमाणमा आधारित र जिम्मेवार पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्न सबैको दायित्व स्मरण गराएका छन् ।
FACEBOOK COMMENTS