एक पटकको जय-पराजय सधैँभरिको जय-पराजय हुदैन: राजन भट्टराई (विज्ञप्तिसहित)
कर्पोरट खबर
3:17 pm, मंगलबार, मंसिर ६, २०७९
काठमाडाैं । नेपाका (एमाले)का स्थायी समिति सदस्यडा. राजन भट्टराईले एक पटकको जय-पराजय सधैँभरिको जय-पराजय नहुने जनाएका छन् । काठमाडाैं क्षेत्रनम्बर ४ बाट उम्मेदवारी दिएका भट्टराइले आफु पराजय भएसँगै जारी गरेकाे विज्ञप्तिमा यस्ताे उल्लेख छ ।
उनले सदीय निर्वाचनको तत्कालको जय-पराजयले व्यक्ति र पार्टीको तत्कालको अङ्कगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने मान्यताका साथ राजनीतिमा सक्रिय रहेको जनाएका छन् ।
‘लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया हो । एकपटकको जय-पराजय सधैँभरिको जय-पराजय हुनसक्दैन । संसदीय निर्वाचनको तत्कालको जय-पराजयले व्यक्ति र पार्टीको तत्कालको अङ्कगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहेको छु । मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् यहाँहरूसँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।,’ उनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
उनी काठमाडाैं क्षेत्रनम्बर ४ बाट काँग्रेस महामन्त्री गगन कुमार थापासँग पराजय भएका हुन् ।
डा. राजन भट्टराईले जारी गरेकाे प्रेस वक्तव्य जस्ताकाे त्यस्तै:
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ बाट नेपाली काङ्ग्रेसका उम्मेद्वार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ ।
यस निर्वाचनमा म काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ मा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकोमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने यस क्षेत्रका मतदाता सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
निर्वाचन परिचालन तथा प्रचारप्रसारमा अहोरात्र खटेर सहयोग गर्नुहुने नेकपा (एमाले) का यस क्षेत्रका कार्यकर्ताप्रति म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । अनेक दुःखकष्ट सहेर पार्टीका सम्पूर्ण कार्यकर्ता कमरेडहरूले गर्नुभएको सहयोग मेरा लागि सदास्मरणीय रहने छ ।
यस क्षेत्रमा मेरो उम्मेदवारीप्रति शुभच्छा राखेर सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक र शुभचिन्तकहरूप्रति पनि हार्दिक धन्यवाद भन्न चाहन्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइ,
लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया हो । एकपटकको जय–पराजय सधैँभरिको जय–पराजय हुनसक्दैन । संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अङ्कगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहेको छु । मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् यहाँहरूसँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।
काठमाडौँ क्षेत्र नं. ४ मा हाम्रो पार्टी नेकपा (एमाले) प्रतिनिधिसभा सदस्यमा विजयी हुन नसकेपनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको स्थिति छ । समानुपातिक मतमा हाम्रो पार्टी यसपटक पनि सर्वाधिक अग्रस्थानमा छ । विभिन्न शक्तिकेन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यस स्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।
डा. राजन भट्टराई
स्थायी समिति सदस्य
नेकपा (एमाले)
मिति : २०७९ मंसिर ६
FACEBOOK COMMENTS