काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आउने बित्तिकै आफूले अध्यक्ष पदबाट राजीनामा दिन खोजेको बताएका छन् ।
पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउने बित्तिकै आफूले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको बताएका हुन् । उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफूले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरू स्थापित गर्ने धारणा राखे ।
उनले आफूहरू मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिँड्ने बताए । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ । यस्तै राप्रपाका नेता पशुपतिशमशरेर राणाले संसद्मा आफूहरूको उपस्थित बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताए । अहिलेको ढंगबाट चलेर नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए । उनले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे ।
उनले नेपाल राष्ट्रको तर्फबाट संसद्मा पुराना दलहरूलाई खबरदार गर्न राप्रपा आएकाले उक्त खबरदारी मामुली ढंगको नहुने जिकिर गरे ।
FACEBOOK COMMENTS