काठमाडौं । कुशल अन्तर्वार्ताकारको रूपमा पहिचान बनाएका राजेन्द्र बानियाँले हिमालय टेलिभिजनसँगको सहकार्यमा पूर्णविराम लगाएका छन् ।
चार वर्षअघि सम्पादक नियुक्त भएका उनले हालसालै टेलिभिजन छोडेका हुन् । अबको केही समयपछि थप सशक्त भएर नयाँ ढङ्गको सञ्चारकर्ममा फर्किने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
तर, करिब २५ वर्षको टेलिभिजन यात्रा अन्त्य गरेका उनले बजारमा हल्ला भइरहेकोजस्तो ‘युटुवर’ नबन्ने पनि स्पष्ट गरेका छन् ।
आफूले अहिलेसम्म अनुभव नगरेको मिडिया प्लाटफर्मका साथ बलियो सञ्चारगृह बनाएर अघि बढ्ने उनको योजना छ । आफू पालिने मात्र नभइ कम्तिमा पनि २०–२५ जनालाई रोजगारी दिनेगरी सञ्चारगृह स्थापना भइरहेको जानकारी उनले दिएका छन् । व्यावसायिक पत्रकारितामा २५ वर्ष बिताउँदा दर्शक/स्रोतासँग जोडिए पनि पाठकसँग नजोडिएकाले अबको पत्रकारिता पाठकसँग जोडिने खालको पनि हुने उनको भनाइ छ ।
भविष्यको आफ्नो योजनाबारे विश्व लिम्बुको पडकास्टमा पत्रकार बानियाँले भनेका छन्–

मैले पत्रकारिता गरेको २५ वर्ष भयो । व्यावसायिक पत्रकारिता गरेको पनि त्यति नै भयो । अब व्यावसायिक रुपमै एउटा सञ्चारगृह चलाउनुपर्छ भन्ने हिसाबले म सोचिरहेको छु । म मात्रै र मैले मात्रै रोजगारी पाउने कुरा वा मैले केही काम गर्ने कुरा ठूलो होइन । मेरो मात्रै आर्थिक समृद्धिको कुरा गर्ने हो भने आजको दिनमा युटुव च्यानलमा हप्ताको एउटा वा दुईवटा मेरो शो चलाएँ भने मलाई आर्थिकरूपमा राम्रो उपार्जन हुन सक्छ ।

तर, मेरो सुरूदेखि आजसम्मको बुझाई त्यस्तो होइन । मेरो बुझाई मसँगै केही साथीहरू, केही युवाहरूले रोजगारी पाउन सक्नुहोस् । त्यसकारणले कम्तिमा २०/२५ जना युवाहरूले रोजगारी पाउनेगरी एउटा मिडिया हाउस बनाऔँ । जसले अहिले समाचारमा भइरहेको ग्यापहरू परिपूर्ति गरोस्, परिमार्जन गर्नपर्ने भए त्यसलाई गरोस् र प्रविधिको अधिकतम प्रयोग गरेर धेरै भन्दा धेरै दर्शक, स्रोता र पाठकसम्म पुग्ने जमर्को छ ।

अहिलेसम्म मैले पाठकसम्म जाने मिडियामा काम गरेको थिइनँ । म पहिलो पटक पाठकसम्म जानेगरी हामीले एउटा मिडिया हाउस बनाएका छौँ । केही समयको कुलिङ पिरियडपछि सञ्चालनमा ल्याउँछौँ ।

कन्टेन्टका लागि टेक्सट अनलाइन र डिजिटल प्लाटफर्ममा प्रोग्रामहरू पठाउने तयारी रहेको उनको भनाइ छ । यक्ष प्रश्न हिमालय टीभीको कार्यक्रम भएका कारण यक्ष प्रश्नकै तहको तर अझ दर्शक स्रोताले सोचेको र चाहेजस्तोगरी प्रस्तुत गर्ने पनि उनले बताए ।
FACEBOOK COMMENTS