पोखरा मंसिर १७,१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र पोखरा १० घर भएका ४४ वर्षीय राजेन्द्र भण्डारी छन् ।
महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले बुधबार भुजेललाई काठमाडौंको कालिमाटी र भण्डारीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
उनीहरुले सामाजिक सन्जाल फेसबुकको माध्यमबाट विभिन्न व्यक्तिलाई प्रलोभन देखाई आफ्नो खातामा पैसा जम्मा गराउने गरेको प्रहरीले जनाएको छ । फेसबुकमा उनीहरुले डा. बेन्जामिन फ्रान्कलिन नामको आइडी खोली आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।
बेलायत पुगेपछि सबै रकमको दोब्बर फिर्ता दिन्छु भनी प्रलोभन देखाएपछि पीडितले विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ पठाएका थिए । अन्य मानिसबाट समेत थप रकम उनीहरुले संकलन गरेको प्रहरीले जनाएको छ । भुजेल र भण्डारीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
FACEBOOK COMMENTS