काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति कमाई खाने उद्योग भएको बताएका छन् । पोखरामा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले भने, ‘एउटा सांसदले मन्त्री बन्न २ करोड मागेपछि देश कसरी अघि बढ्छ,’ उनले भने, ‘घुस मागे गुहार्ने ठाउँ अख्तियार हो । यो नै शुद्ध छैन । राजनीतिक नियुक्ति छ भने न्याय कसरी पाइन्छ?’
उनले भ्रष्टाचार नियमनकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शुद्ध नभएको टिप्पणी गरे । संवैधानिक आयोग र अंगमा राजनीतिक भागबन्डाका नियुक्तिले निष्पक्ष काम गर्न नसकिने उनको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले द्वन्द्वकालीन न्यायको विषयमा बोल्दै जनयुद्धको समय सरकार पक्ष र विद्रोही पक्षमात्र नभई तेस्रो पक्ष (जनता) पनि रहेको तर्क राखे । ‘द्वन्द्वका पीडितलाई उपेक्षा गरेको देखिन्छ,’ उनले भने, ‘हामी तेस्रो पक्षका पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा छौं । ज्यान, धन गुमाएका तेस्रो पक्षलाई सरकारले सम्बोधन गर्नुपर्छ ।’
FACEBOOK COMMENTS