काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्रका लागि महिला र पुरुष एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
११२औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बरले आज सोमबार आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सो कुरा बताएका हुन् ।
सो अवसरमा अध्यक्ष मल्लले साना उद्योगहरूलाई ग्रामीण क्षेत्रसम्मै विस्तार गर्नुपर्नेमा जोड दिँदै महिलाहरूले उत्पादन गरेका सामग्रीहरूलाई बजारीकरण गर्न नेपाल चेम्बर अफ कमर्शले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘महिलाले उत्पादन गरेका कृषिजन्य र अन्य वस्तुहरूको उत्पादनदेखि बजारीकरणसम्म नेपाल चेम्बर अफ कमर्शले सहयोग गर्छ,’ अध्यक्ष मल्लले भने, ‘सामुहिक लगानीमार्फत उत्पादन गर्न पनि म महिलाहरूलाई आग्रह गर्छु ।’
महिलाले नेतृत्व गरेका संस्थाहरूले बढी आर्थिक पारदर्शिता कायम गर्ने पनि अध्यक्ष मल्लले बताएका छन् । साना–साना उद्योगलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न देशभरका चेम्बर जिल्ला समितिले सहयोग गर्ने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्– उद्यमशीलताको विकासमार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्छ : मन्त्री रेग्मी
FACEBOOK COMMENTS