काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेसहित तीन जनालाई ऋण चुक्ता गर्न आउन आग्रह गरेको छ ।
पाण्डेसहित रामकुमार अधिकारी, ललितपुरकी सरला केसी र रौतहटका वंशीधर मिश्रलाई सहकारीले २१ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेको हो ।
पूर्वमुख्यमन्त्री पाण्डेसहित तीन जनाको व्यक्तिगत जमानीमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले लालीगुराँसबाट ऋण लिएको थियो । स्वास्थ्य सेवाले सो ऋण नतिरेपछि लालीगुसराँसले जमानीलाई ऋण तिर्न ताकेता गर्दै पत्रिकामा सूचना समेत प्रकाशित गरेको हो ।
सहकारीले पटक–पटक लिखित तथा मौखिक रुपमा ऋण चुक्ता गर्न आग्रह गरे पनि कुनै चासो नदेखाएको हुँदा सो कर्जा भुक्तानीका लागि सूचना जारी गरिएको सहकारीले जनाएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आफूले लिएको कर्जाको साँवा तथा ब्याज र अन्य दस्तुर चुक्ता गर्न सहकारीले अनुरोध गरेको छ ।
सहकारीले ताकेता गरेको समय अवधिमा पनि वेवास्ता गरी उक्त रकम नतिरे प्रचलित कानुन अनुसार लेना रकम असुल गर्नुका साथै जमानी तथा सञ्चालक समितिको तस्वीरसहितको विवरण प्रकाशित गरी कारबाही पक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।


