काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘राजनीतिको सारथीका रुपमा मलाई आम जनताले निर्वाचित गराएका छन् । यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन’, उनले भने । उनले ग्रामीण क्षेत्रका नागरिकको समस्या र पीडा र राष्ट्र, राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको उल्लेख गरे ।
सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औँल्याए ।
आफूले सुदूरले खोजेको समृद्धि जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायत भएको उनको भनाइ छ । सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उनले बताए ।
सुदुरपश्चिका विभिन्न प्राकृतिक एवं साँस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने उनले बताए । सुदूरपश्चिमले अहिलेसम्म एउटा पनि राम्रो अस्पताल पाउन नसकेको उनको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आजको भेटमा पनि सुदूरपश्चिममा अस्पताल निर्माण र विकासमा सहयोगका लागि आग्रह गरेको उनले बताए ।
केन्द्रिय सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने उनको जिकिर छ । अब व्यवस्थाको लागि लड्ने नभएर समृद्धिका लागि अगाडि बढ्नु जरुरी रहेको उनले बताए । एउटा व्यक्ति असफल बन्दै गर्दा व्यवस्था नै गलत भयो भन्नु गलत भएको उनको विचार छ ।
साथै, कैदी जीवन विताइरहेको रेशम चौधरीको रिहाइको लागि आफू सकारात्मक रहेको उनले बताए । ‘मानवीय संवेदना समुदायबीचको द्वन्दलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो, त्यत्ति बुझ्न जरुरी छ,’ उनले भने ।
FACEBOOK COMMENTS