काठमाडौं । महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाधीनता, सम्मान र सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्।
हमालले मन्त्रीले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको लामो समयदेखि कायम रहेको सन्तुलित परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने बताएका छन् । उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमामा आँच पुर्याउनुका साथै नेपाल–भारत सम्बन्धको महत्त्वलाई समेत कमजोर बनाउने टिप्पणी गरेका छन् ।
नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् । तर, त्यसका लागि देशका प्रतिनिधिले कूटनीतिक विवेक अपनाउँदै नेपालको राष्ट्रिय अडानलाई सम्मानजनक र सन्तुलित ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण भएकाले व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् । दुई देशबीचका अनसुल्झिएका सीमा समस्या र आर्थिक निर्भरताजस्ता विषयलाई ध्यानमा राख्दै सरकारले कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादमार्फत आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले भनेका छन् । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ ।
