काठमाडौं । चर्चित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व र योगदान’ विमोचन गरिएको छ ।
काठमाडौंको दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आज शुक्रबार आयोजित भव्य समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुस्तक विमोचन गरेका हुन् । व्यापार, व्यवसाय र उद्यमशीलतामा सफलता हासिल गरी व्यावसायिक नेतृत्व र सामाजिक व्यक्तित्वका रुपमा स्थापित भएका पूर्वमन्त्री समेत रहनुभएका राजेशकाजी श्रेष्ठका बारेमा ईश्वरलाल प्रतिष्ठानले पुस्तक तयार पारेको हो ।
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायिक क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणदायी हुने बताए । उनले नेपालको उद्योग व्यवसायको प्रवद्र्धन गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यबमोजिम व्यावसायिक व्यक्तित्वको जीवनीलाई पुस्तकको रुप दिने योजनाकार, लेखक, सम्पादकलगायत व्यक्ति तथा संस्थालाई धन्यवाद दिए । ‘उहाँहरूले राजेशकाजीका बहुआयामिक कामको चर्चा पुस्तकमा गर्नुभएको छ । म उहाँहरू सबैलाई धन्यवाद दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक विमोचनका साथै दुई जना चेम्बर अभियन्ताका रूपमा नेपाल महिला चेम्बरकी पूर्व अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष महेश कुमार अग्रवाललाई सम्मान पनि गरेका छन् । यस्तै, उनले पुस्तकका लेखक बद्री प्रसाद कोइरालालाई प्रशंसा पत्र प्रदान गरे ।
सम्मानित हुने अञ्जान शाक्यले नेपालको चेम्बर आन्दोलनमा महिलाहरूको सहभागिता, महिला उद्यमशीलताको विकास र सशक्तिकरण आदि कार्यमा लामो समयदेखि उल्लेखनीय योगदान गर्दै आएकी छिन् । उनले मित्र राष्ट्र इजरायलका लागि नेपालको राजदूतको गहनतम जिम्मेवारी पनि सफलतापूर्वक पूरा गरिसकेकी छिन् । हाल उनी राष्ट्रिय सभा सदस्यको भूमिकामा छिन् । नेपाल चेम्बर अफ कमर्सबाट आफ्नो करिअर प्रारम्भ गरी यति उच्च जिम्मेवारीमा पुग्नुले उद्योगी व्यवसायीहरू उत्साहित छन् ।
यसैगरी, महेश कुमार अग्रवाल नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष हुन् । उनी विगत चार दशक भन्दा बढी समयदेखि चेम्बर अभियानमा क्रियाशील रहँदै आएका छन् । नेपाल चेम्बर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलबाट सन् १९८८ मा सम्पन्न भएको तत्कालीन सोभियत संघ र पूर्वी युरोपका देशहरूको एक महिने मैत्रीपूर्ण ऐतिहासिक भ्रमणमा सरिक भइ भ्रमणलाई थप उपलब्धीपूर्ण बनाउन गरेको योगदानलाई सबैले सराहाना गर्ने गरेका छन् ।
ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा आयोजित समारोहमा आकर्षन व्यक्तित्वका रुपमा राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकार, सुरेश बस्नेत तथा स्वर्गीय ईश्वरला श्रेष्ठकी धर्मपत्नी एवम् प्रतिष्ठानकी संरक्षक पद्मा श्रेष्ठलगायतको उपस्थिति थियो ।
कार्यक्रममा पुस्तकका लेखक बद्री प्रसाद कोइरालाले पुस्तक लेख्नुका कारण, पुस्तकमा समावेश विषयवस्तुको सङ्क्षिप्त जानकारी र पुस्तकले आम पाठकमा पार्नसक्ने प्रभावका विषयमा मन्तव्य व्यक्त गरेका थिए । यस्तै, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीप लाल श्रेष्ठले स्वागत मन्तव्य, सचिव उज्वलजंग शाहले कार्यक्रम सञ्चालन र कार्यसमिति सदस्य प्रशान्त लाल श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए ।
राजेशकाजी श्रेष्ठका बारेमा…
राजेशकाजी श्रेष्ठ नेपालका एक सफल व्यवसायी र समाजसेवी हुन् । उनी जीवनका अनेक आरोहअवरोह झेल्दै संघर्ष गरेर आज यो स्थानमा पुगेका व्यक्तित्व हुन् । एक उद्यमीका रुपमा आजसम्म पनि उनको यात्रा अघि बढिरहेको छ ।
२०१८ साउन १७ गते काठमाडौंको ज्याठामा जन्मिएका श्रेष्ठले पानीपोखरीस्थित भानुभक्त मेमोरियल बोर्डिङ स्कुलबाट माध्यमिक तहको अध्यनपछि पब्लिक युथ क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातक गरे । व्यावसायिक पृष्ठभूमी भएको परिवारमा हुर्किएका उनको जीवन व्यापार र उद्यमका क्षेत्रमा आधारित थियो । त्यसैले पनि व्यावसायिक विषय उनका लागि नौलो थिएन ।
त्यतिबेलै उनका बुबाले सामान आयात गरी होलसेलको व्यापार गर्दथे । बुबाबाट सिकेको सीप र विद्यालय तथा क्याम्पसमा पढेको सैद्धान्तिक ज्ञानले श्रेष्ठलाई व्यापारमा पनि ‘श्रेष्ठता’ सावित गरायो । औपचारिक शिक्षा हासिल भएसँगै व्यवसायमा संलग्न भएका राजेशकाजीले २०४५ सालमा चेम्बरको सदस्यता लिएका थिए । त्यसबेला व्यापार गर्न चेम्बरको सदस्यता लिनुपर्ने भएकाले उनको परिवारका सबै सदस्यले चेम्बरको सदस्यता लिएको थियो । उनको औपचारिक व्यावसायिक यात्रा पनि चेम्बरको सदस्यता लिएपछि नै सुरू भएको थियो ।
चेम्बरमा सहभागी भएपछि उनलाई व्यवसायसँगै व्यावसायिक राजनीतिमा समेत स्थापित हुने अवसर मिल्यो । त्यसैबेला नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष सुरेन्द्रबीर मालाकारले चेम्बरको कार्यसमितिमा जान सुझाव दिएपछि उनको चेम्बरयात्रा सुरू भएको हो । चेम्बरको महासचिवका रुपमा करिब तीन वर्ष काम गरेपछि उनी चेम्बरको उपाध्यक्ष बने । पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्नसक्ने क्षमता राख्ने राजेशकाजीलाई पछि अध्यक्ष बन्न कुनै समस्या भएन । २०५६ सालमा चेम्बर अध्यक्षका लागि भएको निर्वाचन उनले जिते ।
चेम्बरको अध्यक्ष भइ उनले नेपालको व्यापारिक क्षेत्रको नेतृत्व गर्दै व्यवसाय र व्यवसायीको मर्का, समस्या समाधान गर्न सुझाव दिँदै सरकारको नीति निर्माण र अन्तर्राष्ट्रियस्तरमा समेत निडर भएर लागेका व्यक्तित्व हुन् राजेशकाजी । चेम्बरका अध्यक्षका रुपमा सफल कार्यकालमा नै उनलाई नेपाल सरकारबाट सहायकमन्त्रीको जिम्मेवारी पनि प्रस्ताव भएको थियो । उनका साथीहरूको सुझावबमोजिम उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने । मन्त्रीका रुपमा जिम्मोवारी निर्वाह गर्दा उनले विभिन्न चुनौतीहरूबीच पनि उल्लेखनीय कार्यहरू गरेका छन् ।
मन्त्रीको कार्यकालपछि उनी पुनः चेम्बरमा फर्किए र आजको दिनसम्म नेपालका प्रतिष्ठित विभिन्न संस्थाहरूको अध्यक्ष र बोर्ड सदस्यका रुपमा क्रियाशील रहँदै आएका छन् । हाल राजेशकाजी श्रेष्ठ विभिन्न प्रतिष्ठित व्यवसायहरूको संगठन आर्कस ग्रुपको अध्यक्ष समेत छन् ।
उनको योगदान केवल व्यापार क्षेत्रमा मात्र सीमित छैन । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सिनेटर श्रेष्ठ नेपाल सरकारका विभिन्न निकायमा बोर्ड सदस्य रहिसकेका छन् । वैदेशिक लगानी प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ नेपाल सरकारले स्थापना गरेको नेपाल लगानी बोर्डको सदस्य रहँदै आएका उनी निजी क्षेत्रबाट आर्थिक कुटनीतिमा विशेष रुची र ज्ञान राख्ने अनुभवी व्यक्तित्वका रुपमा चिनिन्छन् । यसबाहेक अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको सक्रिय उपस्थिति रहँदै आएको छ ।
नेपालमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ स्थापना र विस्तारको कार्यमा उनले विशेष योगदान गरेका छन् । उनी अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी)को पनि अध्यक्ष छन् । २०७५ देखि नेपालका लागि मित्रराष्ट भियतनामको अनररी कन्सुलर रहँदै आएका उनी यी सबै सक्रियताले गहन प्राज्ञिक ज्ञान र अनुभव हासिल गरेको बौद्धिक व्यावसायिक व्यक्तित्व हुन् भनी परिचय गराएको छ । राजेशकाजी व्यावसायिक योगदानको सिलसिलामा विभिन्न पदकबाट विभूषित समेत भइसकेका छन् ।
राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘व्यक्तित्व र योगदान’ लोकार्पित
एउटा रोटी र तरकारीका लागि मैले भ्रष्टाचार गर्न पर्दैन : प्रधानमन्त्री ओली
FACEBOOK COMMENTS