पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।
मन्त्री गुप्ताको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आज आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले विकासका कामलाई द्रुत गतिमा अघि बढाउन केन्द्रमा नेकपा एमालेले निर्माण गरेकोजस्तै गठबन्धन प्रदेशमा पनि हुन जरुरी रहेको औँल्याए ।
विकासका पूर्वाधारहरू अस्पताल, सडक र शिक्षामा सबैको सहकार्य हुनसके मात्रै स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकाले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गरेका छन् । विकासका लागि अहिलेको मुख्य एजेण्डा भनेको शिक्षा, स्वास्थ्य र सडकको प्रभावकारी व्यवस्थापन गर्नु रहेको उनको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाले मन्त्री गुप्तालाई सम्मान पनि गरेको छ । पर्सागढीसहित पर्साबासीबाट पाएको सो सम्मान र मायाले आफूलाई निकै खुुसी तुल्याएको उनले बताए । आफू राजनीतिमा आएलगत्तै प्रतिनिधि सभा सदस्य निर्वाचित गराएको भन्दै उहाँले आफ्नो निर्वाचन क्षेत्र र सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गरे । आफूलाई निर्वाचित गराएर जनताले लगाएको गुण तिर्न आफूले जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS