काठमाडौं । भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक सो चरा देखेका थिए ।
टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि चराको यकिन पुष्ट्याइँ गरिएको बर्ड रेकर्ड कमिटीले जनाएको छ । कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखेको छ ।
कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले जारी गरेको विज्ञप्तिमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको उल्लेख छ ।
यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा रहेको र यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइने भएपनि बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युजील्यान्डमा समेत पाइएको उल्लेख छ ।
नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार योसहित नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ ।
तस्बिर: चराविद् कुमुद पराजुली
FACEBOOK COMMENTS