प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व नेपालमा पनि सोमबार मनाइँदै छ । उक्त अवसरमा सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरिसकेको छ ।
रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीका लागि विशेष पर्व हो । दिदीबहिनीहरू वर्षभरि यो पर्वको पर्खाइमा रहन्छन् । आफ्ना दाजुभाइको हातमा रक्षाबन्धन बाँधेर दिदीबहिनीहरूले उनीहरूको सुखी जीवनको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीको रक्षाको वाचा गर्दछन् ।
रक्षाबन्धन खासगरी हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व हो । यद्यपि, नेपालका धेरैजसो संस्कार संस्कृतिहरू सबैका साझा हुँदै गएका छन् ।
यस अवसरमा दाजुभाइले दिदीबहिनीलाई विभिन्न प्रकारका उपहार दिने गर्छन् । दाजुभाइ र दिदीबहिनीको सम्बन्धमा तीतो-मीठो दुवै हुन्छ । यस सम्बन्धमा लडाइँ-झगडासँगै त्योभन्दा धेरै प्रेम लुकेको हुन्छ । रक्षाबन्धन त्यही प्रेम प्रकट गर्ने एक अवसर पनि हो ।
वर्षमा एक दिन आउने रक्षाबन्धन खास र स्मरणीय बनाउन सकियोस् भन्ने चाहना दाजुभाइ दिदीबहिनीमा स्वाभाविक रूपले हुन्छ ।
रक्षाबन्धनलाई विशेष बनाउन दिदीबहिनीले अपाउन सक्ने केही उपाय यहाँ सुझाइएको छ :
राखी चयन
तपाईंले बजारमा सस्तोदेखि महँगोसम्म सबै प्रकारका राखीहरू पाउनुहुन्छ । तर, रक्षाबन्धन पर्वमा दाजुभाइलाई प्रभावित गर्न उनीहरूका नाम भएको राखी बाँधिदिनुस् । यस्तो राखी तपाईं घरमै पनि तयार गर्न सक्नुहुन्छ भने आजकाल यस्ता विकल्प थुप्रै वेबसाइटहरूमा पनि उपलब्ध छ । नामसहित आफ्ना दाजुभाइको फोटो पनि राख्न सक्नुहुन्छ ।
समान पोसाक
रक्षाबन्धन पर्वलाई विशेष बनाउन यस अवसरमा समान पोसाकको विकल्प राख्नुहोस् । उस्तै रङका लुगा लगाउनुहोस् । यसमा राम्रा-रमाइला तस्बिरहरू कैद गर्नुहोस् ।
यस्तै आफ्ना दाजुभाइका लागि सकभर आफैं पोसाक तयार गर्नुस् । निसन्देह यसमा केही मेहनत त लाग्छ नै तर तपाईंको यो प्रयासले तपाईंका दाजुभाइको यो दिनलाई विशेष बनाउनेछ ।
मनपर्ने परिकार
रक्षाबन्धन मात्र होइन, अधिकांश चाडपर्व परिकारबिना पूरा हुँदैन । त्यसैले यस पर्वलाई थप रमाइलो बनाउन यस अवसरमा आफ्ना दाजुभाइका मनपर्ने परिकार तयार गर्नुहोस् । तपाईंको मेनुमा ती सबै परिकारहरू राख्नुहोस् जुन तपाईंका दाजुभाइलाई असाध्यै मनपर्छ । यदि खाना बनाउन सम्भव छैन भने तपाईं उनीहरूका मनपर्ने रेस्टुरेन्टहरूमध्ये एकमा लञ्च वा डिनरको योजना पनि बनाउन सक्नुहुन्छ । उनीहरूलाई तपाईंका यी कार्यले खुसी बनाउन सक्छन् ।
यस्तै दाजुभाइले पनि उपहारमा आफ्ना दिदीबहिनीलाई मनपर्ने कुरा दिएर यो पर्वलाई खास बनाउन सक्छन् ।
रक्षाबन्धनको धार्मिक महत्त्व
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग रक्षाबन्धनको सम्बन्ध छ ।
पौराणिक कथनअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ वर्षसम्म भयानक युद्ध चर्किएको थियो । उक्त युद्धमा असुरहरूले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न थाले ।
यता, इन्द्रले उनीहरूसँग पुन अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरू वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको कामना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।
आधुनिक समाजमा आफ्नै दानवरूपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन ।
FACEBOOK COMMENTS