काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमले नेपाली सञ्चारमाध्यमहरूलाई ‘फेक न्यूजका उत्पादकहरू’ को संज्ञा दिएकी छिन् ।
आफ्नाविरुद्ध सामाचार सामग्री उत्पादन र प्रशारण/प्रकाशन गरेको भन्दै उनले सञ्चारमाध्यमहरूलाई यस्तो आरोप लगाएकी हुन् । उनले आफ्नाविरुद्ध काल्पनिक समाचार लेखेर सिङ्गो पत्रकारितालाई नै सानो क्षेत्र बनाएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी समेत गरेकी छिन् ।
‘प्रिय फेक न्युजका उत्पादकहरू, पत्रकारिता तपाइँहरूको लागि साह्रै सानो क्षेत्र भयो । कृपया यस्ता काल्पनिक कथा तपाइँहरूले लामो उपन्यासमा लेखिदिनु भए तपाइँका पाठकलाई सहज हुने थियो । म तपाइँहरूको काल्पनिकताको प्रशंसा गर्दै मेरो नामलाई त्यसको पात्र बन्ने सौभाग्य दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । नेपाली समाजले तपाइँको मेहनतको ढिलोचाँडो मुल्याङ्कन गर्ने नै छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘साथै, उपन्यास लेखनबाट थोरै समय उभ्रिएमा तपाइँका स्रोतलाई प्रतिवेदन कहिले आउँछ भन्ने विषयमा पनि सोधेर छोटो पत्रकारिता गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’
यसअघि केही सञ्चारमाध्यमहरूले रक्षा बम गृहमन्त्री ओम प्रकाश अर्यालसँग नजिक रहेको, रक्षाकै समूहले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न लगाएको र सडकमा गएर नाटक मञ्चन गरिरहेकोजस्ता विषयलाई जोडेर समाचार सम्प्रेषण गरेका थिए । उत्त समाचार सामग्रीमा प्रस्तुत तथ्यहरू सत्य नभएको दाबी गर्दै रक्षाले आफ्नो बचाउ गर्दै यस्तो प्रतिक्रिया जनाएकी हुन् ।
