काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेन्जी अभियन्ता रक्षा बमलाई विदेशी दूतावासबाट परिचालित सिपाहीको आरोप लगाएका छन् ।
गत भदौ २४ गते जलिरहेको सिंहदरबारको मुलद्वारअगाडि बसेर खुसी मनाएको तस्बिर बम स्वयम्ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनको तीव्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेता शाहीले उनलाई विदेशीको परिचालित सेना भएको आरोप लगाएका हुन् ।
विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका शाहीले भनेका छन्, ‘सिंहदरबार जलाएर खुसी हुने एउटा युवतीको तस्बिर देखेँ । उनी नेपाली नागरिक हुन् कि होइनन् यदि उनी नेपाली नागरिक हुन् भने सिंहदरबार जलाउँदा किन खुसी भइन् ? खुसी हुने उनीहरू त विदेशी राजदूतावासका परिचालित सिपाहीहरू हुन् ।’
यस्तै उनले सिंहदरबार भौतिक संरचना मात्र नभइ नेपालीहरूको इतिहास भएको भन्दै आगजनी गर्नेहरूलाई खोजी खोजी कारबाही चलाउनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘भौतिक संरचना त बनाउन सकौँला । तर हाम्रो इतिहास बनाउन सक्दैनौँ । हाम्रा युवाहरूको हत्या गर्यो हत्यारालाई अहिलेसम्म सरकारले किन पक्रिन सकेको छैन,’ उनले भनेका छन् ।
FACEBOOK COMMENTS