काठमाडौं । सामाजिक सञ्जालमा कलाकारमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध सुरु भएको अभियानमा अब लोकप्रिय गायक रामकृष्ण ढकाल पनि सक्रिय रूपमा जोडिएका छन्।
यसअघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले अगुवाइ गरेकाे यो अभियानमा अन्य कलाकारहरू पनि सहभागी भइरहेका छन्। ढकालले सामाजिक सञ्जालमार्फत अभद्र टिप्पणी गर्नेहरूको प्रोफाइलहरू समेत सार्वजनिक गरेका छन्।
गायक ढकालले फेसबुकमा लेख्दै भनेका छन्, ‘अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान। सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो ठान्नेहरूको भ्रम चिर्नुपर्ने बेला आएको छ। तपाईंहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र यस्ता अपराध कर्म जरैबाट उखेल्न साइबर ब्युरो बनेको हो। उहाँहरूले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु हुनेछ।’
उनले केही समययता कलाकारहरूले अघि बढाइरहेको यो प्रतिरोधी अभियानमा आफू पनि उभिएको उल्लेख गर्दै एलिना चौहान र समीक्षा अधिकारीको साहसको प्रशंसा गरेका छन्। ढकालका अनुसार अब कलाकारहरू एकजुट भएर यस्तो दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने छन्।
FACEBOOK COMMENTS