नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ: उपराष्ट्रपति यादव
कर्पोरट खबर
7:24 pm, आइतबार, वैशाख ३१, २०८०
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घ ९नेफ्टा० ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गरे ।
“विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ”, उनले भने, “नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ ।”
उनले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । “चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”, उपराष्ट्रपति यादवले भने ।
FACEBOOK COMMENTS