काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ ।
उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेट जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन् ।
२०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलन्यास गरेका थिए ।
राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित हुँदै आएको थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए ।
सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलन्यास भएको हो ।
सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका छन् ।
मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक विदा दिइएको छ । नेपालका पनि सीमावर्ती क्षेत्रका कतिपय पालिकाले सार्वजिक विदा दिएका छन् भने माछामासु विक्री वितरणमा रोक लगाइएको छ ।
FACEBOOK COMMENTS