नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव समारोहको अध्यक्षता गरिरहनु भएका संचालक समितिका सदस्य श्री इश्वरी प्रसाद अर्यालज्यू, प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा प्रभाकरज्यू, नेपाल सरकारका विशिष्ट पदाधिकारीज्यूहरु, सञ्चालक समितिका सदस्यज्यूहरु, विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य संस्थाका अध्यक्ष एवं कार्यकारी प्रमुखज्यूहरु, आमन्त्रित विशिष्ट पाहुनाहरु, पत्रकार बन्धुहरु कोषमा कार्यरत कर्मचारी युनियनका अध्यक्ष तथा पदाधिकारीहरु तथा संपूर्ण कर्मचारी साथीहरु । नागरिक लगानी कोष ३१ वर्ष पुरा गरेर ३२औं वर्षमा प्रवेश गरेको अवसरमा म कोष परिवारका तर्फबाट प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत अभिवादन एवं नमन गर्दछु ।
नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले २०४८ माघ १ देखि कारोबार सुरू गरी अहिलेको अवस्थामा आईपुग्दा विभिन्न १२ वटा कार्यक्रमहरुमा करीब आठ लाखभन्दा बढी सहभागीहरुलाई आवद्ध गराई आफ्नो सेवा देशभर पुर्याउन सफल भएको छ ।
सरकार, निजी क्षेत्र र सर्वसाधारणको शेयर लगानीमा स्थापित यस कोषको चुक्ता पुँजी तीन अर्ब २७ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम एक खर्ब ८४ अर्ब ९० करोड रुपियाँ रहेको छ । यो अवधिमा कोषले एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकता परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।
कोषका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने सम्भावना भएको संघ संस्थाहरुलाई आवद्ध गर्नु र ती संस्थाहरुको दीर्घकालिन दायित्वलाई व्यवस्थापन गर्न सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय संचालन गरिसकेको छ । योसँगै सुदुरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा शाखा बिस्तारको लागि प्रक्रिया शुरु गरिससक्किएको छ । आगामी वर्ष थप २ वटा शाखा कार्यालय बिस्तार गर्ने कार्यक्रम रहेको छ भने हाल संचालनमा भइरहेका र अब खुल्ने शाखा कार्यालयहरुलाई प्रदेश कार्यालयको रुपमा स्तरवृद्धि गरी संचालन गरिने छ ।
कोषको विद्यमान सूचना प्रविधि प्रणानीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्वेयर संचालनमा ल्याइसकिएको छ । राष्ट्र सेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम CGAS प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सम्पूर्ण सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी NCHL को connect IPS मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै कोषले प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ भने भुक्तानी प्रणाली connect IPS मार्फत हुने व्यवस्था भइसकेको छ ।
कोषको भौतिक पूर्वाधार, मानवीय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संशोधन भइरहेको छ । अतः कोषले आफ्नो संगठनात्मक संरचनालाई अझ चुस्त दुरुस्त र व्यवसायिक बनाउन ऐन नियम कानुनको परिधिभित्र बसेर आफ्नो कार्यलाई अगाडि बढाएको छ । यसै वर्षदेखि नवनिर्मित यस भवनबाट सम्पूर्ण सेवा प्रवाह शुरु गरेको छ भने पहिले कार्यालय रहेको स्थानमा कर्पोरेट भवन बनाउन शहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा नक्सा तयार गर्ने काम सम्पन्न भएको छ । आगामी वर्षदेखि भवन बनाउने कार्य अघि बढाइने छ ।
कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आईसकेको छ । कम्पनीले कोषले ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वमित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्कटक डिलर हो भने यसले पुँजी बजारको विकास, विस्तार र विश्वसनीयतामा महत्वपूर्ण योगदान पुर्याउने छ ।
कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यन्वयनमा ल्याइसकेको छ । कोषले आवास कर्जाबापत सहभागीलाई निजको १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपियाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्न सुरु गरिसकेको छ । कोषका कार्यक्रममा श्रीमान र श्रीमती दुवै सहभागी भएको भए सो आवास कर्जा सीमालाई एक करोड रुपियाँसम्म सुविधा प्रदान गर्ने व्यवस्था सुरु गरिसकेको छ ।
विगत लामो समयदेखिको कोभिड १९ को महामारी तथा त्यसको प्रभाव कम गर्न गरिएको लकडाउनका कारण समग्र अर्थतन्त्रमा पर्न गएको प्रभावले नागरिक लगानी कोषलाई पनि केही प्रभाव पारेको थियो । उक्त प्रभावलाई न्यूनीकरण गर्दै कोषको कारोवारलाई विस्तारै पूर्ववतरुपमा संचालनको अवस्थामा ल्याइसक्किएको छ भने हाल अर्थतन्त्रमा देखिएको तरलता अभावको समस्यालाई न्यूनीकरण गर्न कोषले आफ्ने तर्फबाट पनि योगदान पुर्याइरहेको छ ।
साथै, सहभागी तथा शुभेच्छुकहरुबाट प्राप्त भएको अमूल्य सुझाव, सल्लाह र प्रतिक्रियालाई सम्मानका साथ नागरिक लगानी कोषको व्यवस्थापनले स्वीकार गर्ने गरेको छ । कोषले आफूलाई नेपालको समृद्धिको सहयात्रीको रुपमा अघि बढाइरहेको छ । नेपालको आर्थिक वृद्धि एवम नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ दिईरहने छ भन्ने विश्वास दिलाउँन चाहान्छु ।
अन्तमा, यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्ने, दीर्घ सेवा पदक प्राप्त गर्ने कर्मचारीहरुलाई बधाई दिन चाहान्छु । साथै, कोषको वार्षिकोत्सवमा रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाता साथीहरुलाई धन्यवाद दिन चाहान्छु । पुन हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रमुख आतिथ्यको रुपमा यस सभाको शोभा बढाईदिनुभएकोमा माननीय अर्थमन्त्री जनार्दन शर्मा, विशिष्ट पाहुना, संचालक समितिका पदाधिकारीहरु, सम्पूर्ण आमन्त्रित महिला तथा सज्जनवृन्द, पत्रकार मित्रहरु र सम्पूर्ण कर्मचारीहरुलाई पुनः स्वागत अभिवादन एवं नमन गर्दछुु ।
धन्यवाद ।।
२०७८ साल चैत ४ गते शुक्रबार
(हिजो शुक्रबार आयोजित नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सव समारोहमा कोषका कार्यकारी निर्देशक रमण नेपालले स्वागत मन्तव्यका क्रममा व्यक्त गर्नुभएका विचार)
यो पनि पढ्नुहोस्–
नागरिक लगानी कोषले मनायो ३२औं वार्षिकोत्सव, पूर्वध्यक्षसहित सञ्चालक र कर्मचारीलाई सम्मान
अर्थमन्त्री शर्मा भन्छन्– ठूलो परिमाणको पैसा सिरानमुनी हरायो कि ओछ्यानमुनी म खोज्दैछु
FACEBOOK COMMENTS