काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल सोमबार बिहान कतारको चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतले बिदाइ गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुने छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् ।
राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका छ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैं सक्रिय र प्रतिबद्ध सदस्य हो ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

FACEBOOK COMMENTS