काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानकी प्रधानमन्त्री तकाइची सनायले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार भएको भेटमा राष्ट्रपति पौडेलले जापान सरकारको निरन्तर सहयोग,सद्भावना र समझदारीका लागि आभार व्यक्त गर्दै दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्नआगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका थिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव आफूहरुबीच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुंगा हो भन्दै उनले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए ।
जापानले द्विपक्षीय अनुदान,ऋण,बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संशाधन विकास,स्वास्थ्य, कृषि विकास,पूर्वाधार विकास,वातावरण संरक्षण,संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको बताएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
उक्त अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएकी थिइन् । साथै प्रधानमन्त्री तकाइचीले निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने पनि बताएकी छन् ।

उनले नेपाल र जापान विगत लामो समयदेखिका घनिष्ठ मित्र रहेको उल्लेख गर्दै जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्पर्क र जापानी नागरिकले नेपालको हिमालहरु चढ्ने गरेकोजस्ता कारणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताइन् ।

राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा आइतबार राति जापान प्रस्थान गरेका थिए । उनले आजै जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

FACEBOOK COMMENTS