काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सन्देशमा भनिएको छ, “महिला सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”
राष्ट्रपति पौडेलले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्ने सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS