काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजमा नैतिकता, आचरण र इमान्दारीताको आवश्यकता झन् बढेको बताएका छन् ।
नेपाल जनप्रशासन संघले सोमबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट सिकेर तथा उपयोग गरेर अघि बढ्न सकिने भए पनि नैतिकता, आचरण र इमान्दारीता व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए ।
उनले आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन आवश्यक भए पनि त्यसको आधार नैतिक र जिम्मेवार नेतृत्व हुनुपर्नेमा जोड दिए । पछिल्लो समय समाजमा प्रविधिको विकास तीव्र गतिमा भइरहे पनि इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता कहिल्यै पुराना नहुने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन, विश्वव्यापीकरण तथा नयाँ आर्थिक संरचनाका कारण प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासमा व्यापक परिवर्तन आएको बताए । यद्यपि प्रविधि र प्रणाली परिवर्तन हुँदैमा सार्वजनिक प्रशासनका आधारभूत मूल्य र मान्यता परिवर्तन नहुने उनले स्पष्ट पारे ।
बदलिँदो विश्व परिवेशमा जनताको विकासप्रतिको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले राज्यको सफलता र विकासलाई केवल आर्थिक सूचकका आधारमा मात्र मूल्यांकन गर्न नहुने बताए ।

सूचना प्रविधिको विस्तारसँगै विश्वव्यापीकरण र आधुनिकीकरण तीव्र भइरहेका बेला सक्षम, जिम्मेवार र नैतिक प्रशासन निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याए । राष्ट्रपति पौडेलले सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन नेतृत्वको आचरण तथा इमान्दारीता महत्वपूर्ण हुने बताए ।