सञ्जय अग्रवाल | कार्यकारी निर्देशक | रमेश कोर्प
उपाध्यक्ष | मोबाइल फोन इम्पोटर्स एसोसिएशन (एमपीआईए)
रमेश कोर्पका कार्यकारी निर्देशक समेत रहेका सञ्जय अग्रवाल मोबाइल फोन इम्पोटर्स एसोसिएशन (एमपीआईए) का उपाध्यक्ष हुन् । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (एनआईसीसीआई) को अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रहेका उनी सन् २०२२ दक्षिण एशियाका उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा समेत पर्न सफल नेपाली युवा व्यवसायी हुन् ।
खासगरी कलर्स, जीओनी र शाओमीलगायत विदेशी ब्राण्डका थुप्रै मोबाइल सेटहरूको आयात, बिक्री र बजार प्रवर्द्धन गरिरहेका अग्रवाल नेपालमा मोबाइलको अनधिकृत (ग्रे मार्केट) फस्टाउँदा अरबौँ लगानी गरेका व्यवसायी मर्कामा परिरहेको तथा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको बताउँछन् । राज्य र सरकार दुवैलाई फाइदा हुनेगरी अनधिकृत तवरबाट मोबाइल फोनको आयात पूर्णतः बन्देज लगाउनुपर्ने बताउँदै आएका अग्रवालसँग कर्पोरेट खबरले विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले रमेश कोर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालसँग गरेको समसामयिक कुराकानीको सम्पादित अंशः–
नेपालमा मोबाइल फोनको प्रयोग तीव्र बढिरहेको छ, आयात र बिक्रीको अवस्था के कस्तो छ ?
नेपालमा मोबाइल भित्रिएको करिब २२ वर्ष भयो । जबदेखि नेपाल टेलिकम (एनटीसी)ले आफ्नो सिमहरू वितरण गर्न थाल्यो तबदेखि नेपालमा मोबाइल भित्रिएको हो । तर, आधिकारिक रूमा मोबाइल मार्केट स्थापना भएकोचाहिँ सन् २००९/१० देखि हो । त्यसबेला मोबाइल आयातमा हामी पूरै परनिर्भर थियौँ । ‘ग्रे मार्केट’बाट मोबाइलहरू नेपाल भित्रिने गरेका थिए । त्यसलाई लिगल इम्पोर्टको विषय बनाउनुपर्छ भनेर हामीले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालादेखि विभिन्न पहल कदमी गर्यौँ । मोबाइल मार्केटको लिगल इम्पोर्ट हुन थालेको पनि अहिले १४–१५ वर्ष भइसकेको छ । तै पनि यो व्यवसाय स्थिर बन्न सकेको छैन भने ‘ग्रे मार्केट’ पनि राज्यको नियन्त्रणबाहिरै छ । यसले हामीलाई मार परिरहेको छ ।
कोभिड–१९ को समयमा मान्छेसँग पैसा थिएन, तर पनि मोबाइललगायत ग्याजेट्सहरूको राम्रो बिक्री भएको थियो, अहिले आर्थिक समस्या छ, फेरि पनि मान्छेसँग पैसा छैन । अहिलेचाहिँ व्यापार कस्तो छ ?
कोभिड र अहिलेको स्थिति पूरै फरक छ । कोभिडमा पनि सुरूको ६ महिना त व्यापार भएकै थिएन, जिरो थियो । तर, ६–८ महिनापछिदेखि अनलाइन पढाइका कारण मोबाइल मात्र होइन पूरै ग्याजेट्सहरूको डिमाण्ड ह्वात्तै बढेको थियो । राम्रो व्यापार भए पनि आयात गर्न समस्या थियो । विभिन्न चरणको छलफलपछि सरकारसँग हामीले निकै ढिलो गरी मोबाइल आयात गर्न पाउने अनुमति पायौँ । त्यसबाट व्यापारिक स्वार्थ एक ठाउँमा भए पनि बच्चाहरूको हातमा मोबाइल पुग्यो र पठनपाठनमा सहजता थपियो । विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्न पाए । सायद त्यो बेलामा हामीले मोबाइल इम्पोर्ट खुला गर्ने पहल नगरेको भए बच्चाहरूको पढाइ नै प्रभावित हुने स्थिति थियो । कतिपय मान्छेहरूले त्यसबेलाको अनलाइन व्यापारलाई बढावा दिए र अहिलेसम्म पनि निरन्तरता दिइरहेको पाइन्छ । कति एपहरू सञ्चालनमा आए जुन चलिरहेका छन् । घरबाट बाहिर निस्किन नसकिने अवस्थामा मोबाइल, ल्यापटप र अन्य ग्याजेट्सहरू निकै उपयोगी सावित भए । सरकारले लक्जरियस भनेको मोबाइल नभइ नहुने वस्तुमा गनिन थाल्यो । बैंकिङ प्रणालीहरूको उपभोगका लागि पनि मोबाइल र ल्यापटप महत्वपूर्ण साधन बन्यो ।
तर, जब कोरोना क्रमशः न्यूनीकरण हुँदै गयो त्यसका साइड इफेक्टहरू देखिन थाले । फाइनान्सियल र फिजिकल्ली पनि प्रभावहरू देखिए । त्यसैको कारण आज हामी आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेका छौँ । कोभिड सकिएसँगै विद्यालय र अन्य कार्यालयहरू खुल्न थाले र भौतिक रूमा सशरीर उपस्थित भएर पढाइ र अन्य काम हुन थालेपछि त्यसबेला लिएका मोबाइलहरू फाल्तु बनेका छन् । मानिसहरूको घर–घरमा मोबाइल फाल्तु बन्दा यता हाम्रो व्यापार नराम्ररी प्रभावित बनिरहेको छ । एकाएक राइजमा आएको व्यापार एक वर्षमा स्वाट्टै तल झरेको छ । जसको प्रभाव आजसम्म झेलिरहेका छौँ ।
अहिलेको समयमा मोबाइल एक अतिआवश्यक वस्तु भए पनि मानिसहरूको प्राथमिकता गाँस, बास र कपासमा छ । देशमा अहिले आर्थिक सङ्कट छ, मानिसहरूसँग पैसा छैन । तै पनि मानिस मोबाइलबिना एकछिन पनि बस्न नसक्ने अवस्थामा पुगेका छन् । केही गरी चलाइरहेको मोबाइल बिग्रियो भने उसले तुरुन्त किन्छ, तर ५० हजार रूपैयाँको मोबाइल चलाइरहेको मान्छेले १५–२० हजारको मोबाइल लिएर काम चलाउन थालेको छ । मोबाइल नभइ नुहने वस्तुमा पर्छ तर मानिसले मूल्यमा कम्प्रोमाइज गर्न थालेका छन् ।
आर्थिक समस्याका कारण मान्छेहरूको पैसा रियल–स्टेट, सहकारी र शेयर मार्केटलगायतमा फसेको छ । बजारमा रोटेशन हुनुपर्ने पैसा ठाउँ–ठाउँमा फस्दा व्यापार क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसबाट कतिपयले रोजगारी छोड्नुपरेको छ भने कतिपयको पारिश्रमिकहरू रिभ्यू भएका छन् । बजारमा महङ्गी बढेका छन् । मोनिटरिङ कसैले गरेको छैन । यी सारा कुराको प्रभाव मोबाइल मार्केटमा परेको छ ।
अर्कोतर्फ सरकारले ल्याएको केही सिस्टमहरू प्रभावकारी बन्न नसक्दा ‘ग्रे मार्केट’ फेरि मौलाएको छ, वैदेशिक रोजगारीबाट आउने मान्छेहरूले पनि मोबाइल ल्याएर नेपालमा बेचिरहेका छन्, हरेक फ्लाइटबाट मोबाइल आइरहेका छन् । यसले करोडौँ–अरबौँको लगानी गरेर लिगल बिजनेश गर्ने, सरकारलाई राजस्व तिर्ने, हजारौँ रोजगारी सृजना गर्ने हामी इम्पोटर्सहरू थप मारमा परेका छौँ । अर्थात् हामी पेनिक अवस्थाबाट गुज्रिरहेका छौँ । अहिले मैले गरेको लिगल लगानीमध्येको एकतिहाइ मात्रै पनि ‘ग्रे मार्केट’मा लगाउने हो भने धेरै कमाउने अवस्था बनेको छ । तर, हाम्रो एथिक्सले त्यो कुरा मान्दैन । हामी आधिकारिक रूमा काम गर्ने २०–२५ जना इम्पोटर्स साथीहरू नेपालमा छौँ, जसले निकै ठूलो मर्का खेपिरहेका छौँ ।
रमेश कोर्पभित्र कुन–कुन व्यापारिक संस्थाहरू छन् र तिनीहरूले के–के काम गर्छन् ?
रमेश कोर्पभित्र ७–८ वटा कम्पनी छन् । आधारभूत रूपमा त्यसमा हाम्रो ठूलो ट्रेडिङ व्यवसाय भनेको मोबाइल व्यवसाय नै हो । हाम्रो अरु इलेक्ट्रोनिक्स व्यवसायहरू पनि छन् । पछिल्लो समय हामी म्यानुफ्याक्चररिङ उद्योगहरूमा पनि छौँ । लिटमस तार र केबलहरूको फ्याक्ट्री पनि छ । भर्खरै हाम्रो यो ठूलो छातामुनि जोडिएर ठूलो प्लान्ट कजरिया टायल्स सञ्चालनको तयारीमा छ । धेरै युवा जनशक्ति विदेश पलायन भइरहेको र नेपालमा लगानीको वातावरण नै छैन भनेर गलत प्रचार भइरहेको परिप्रेक्ष्यमा त्यसलाई केही हदसम्म रोक्ने र नयाँ सन्देश दिने उद्देश्यअनुरू हामीले भारतको नम्बर वान टायल उद्योगको फ्रेन्चाइज नेपालमा ल्याएका हौँ । यसले नेपालमा पनि लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिएको छ ।
मेरो एउटै कुरा छ, हामी सकारात्मक बन्न जरुरी छ । हरेक विषयमा अरुको आलोचना गरेर मात्रै हुँदैन । आफूले पनि केही गर्ने प्रयास गर्नुपर्दछ । हामी यही देशमा बस्नुछ, काम गर्नुछ अनि यही देशको आलोचना किन बारम्बार ? चाहिने ठाउँमा आलोचना र प्रश्न उठाउनु पनि पर्छ तर, हरेक कुरामा आलोचना गरेर मात्रै हुँदैन । नेपालाई हामी फेरि लगानीको राम्रो सम्भावना भएको र वातावरण बनेको देशको रूमा परिचित गराउने एउटो सानो प्रयास कजरिया टायलको उद्योग हो ।
हामीले यसरी लगानी गर्दा अहिलेको आर्थिक समस्या समाधानमा टेवा पुग्नाका साथै थोरै भए पनि रोजगारी सृजना हुन्छ । हुन त हामीले दुई चार हजारलाई रोजगारी दिँदैमा यहाँको बेरोजगारी समस्या समाधान हुन नसक्ला, तर हाम्रो लगानी देखेर विदेशका यस्तै दुई–चार सय वटा लगानी नेपाल आउन सक्यो भने लगानी र रोजगारी सृजनामा ठूलो काम हुन सक्छ । हामीले आफूलाई पनि कर्पोरेट सोसियल रेस्पोन्सबिलिटीभित्र राख्नुपर्दछ । यही देशमा बसेर काम गरिसकेपछि यही देशमा रोजगारी सृजना गर्नुपर्छ भन्ने कुराबाट प्रेरित भएर पनि रमेश कोर्पले म्यानुफ्याक्चरिङको नयाँ–नयाँ क्षेत्रमा लगानी बढाइरहेको हो ।
उत्पादनको कुरा गरिरहँदा नेपालमै मोबाइल फोनको उत्पादन वा एसेम्बलको बारेमा पनि रमेश कोर्पले केही साचेको छ कि ?
हामीले यो कुराको अध्ययन पहिला पनि गरेका थियौँ । नेपालमै मोबाइल उत्पादन गर्ने सन्दर्भमा सरकारले पनि हामीहरूसँग छलफल गरेको थियो । तर, नेपालमा मोबाइल एसेम्बलको सम्भावना अत्यन्त न्यून छ । किनभने यसका लागि ठूलो र चुनौतीपूर्ण लगानी गर्नुपर्ने हुन्छ । लगानी गरेर पनि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन हुने स्थिति छैन । सबै व्यवस्थापन गरेर उद्योग चलाइयो भने पनि उत्पादित वस्तुको खपत हुने बजार नेपालले मात्रै पुग्दैन, नेपाली बजारको आवश्यकता भन्दा कयौँ गुणा ठूलो स्केलमा उत्पादन गर्नुपर्ने हुन्छ । जुन उत्पादनको बजारका लागि हामीले निर्यात गर्नुपर्ने हुन्छ । तर, अहिले नै हामीसँग त्यस खालको नीतिनियम र कानुनी जटिलताहरू फुकिसकेको छैन र राजनीति पनि स्टेलब हुने स्थिति छैन । यो निकै संवेदनशील प्रोजेक्ट भएका कारण सहज छैन । टीभी, मोटरसाइकल वा गाडी एसेम्बल गरेजस्तो मोबाइल एसेम्बल होइन ।
रमेश कोर्पले अहिले कलर्स, जीओनी र शाओमीलगायत विदेशी ब्राण्डका थुप्रै मोबाइल सेटहरूको आयात, बिक्री र बजार प्रवर्द्धन गरिरहेको छ । अब थप कम्पनीहरूको पनि बिक्रेता बन्ने सोच बनाउनुभएको छ कि ?
रमेश कोर्पमा टेलिटक, टेलिडाइरेक्टलगायत जति पनि १७–१८ वर्ष पुराना कम्पनीहरू छन् तिनै कम्पनीहरूले हामीलाई नेपाली उपभोक्तामाझ चिनाएको छ । रमेश कोर्प चिनिनुमा मोबाइल इन्डष्ट्रीको ठूलो योगदान छ । अरु बिजनेशहरू हामीले पछि थपेका हौँ । हामीले रमेश कोर्पको सुरूवात नै मोबाइल बिजनेशबाट गरेका हौँ । त्यसैकारण यो बजारमा हाम्रो राम्रो पकड छ । चुनौतीहरू हरेक सेक्टरमा हुन्छन् र मोबाइलमा पनि छन्, तर ती सबै चुनौतीहरूलाई सामना गर्दै अरु एक–दुई वटा ब्राण्डहरू थप्ने योजनामा हामी छौँ ।
नेपालमा मोबाइल फोन आयात तथा बिक्रीका सन्दर्भमा के–कस्ता चुनौतीहरू छन् । तीनलाई समाधान गर्न कसले के गर्नुपर्ला ?
मोबाइलको ‘ग्रे मार्केट’ले गर्दा अहिले पनि नेपालले वार्षिक रूपमा १४–१५ अर्ब रूैयाँको व्यापार घाटा व्यहोर्न परिरहेको छ । यो केवल व्यापारीको मात्र होइन सरकारकै लागि ठूलो चुनौतीको विषय हो । किनभने सरकारले ठूलो राजस्व गुमाइरहेको छ । गाँस, बास र कपासपछि मोबाइल नभइ नहुने साधनको रूमा अगाडि आइसकेपछि सरकारले यसलाई अतिआवश्यकमा राखेर आयात र बिक्रीलाई व्यवस्थित गर्नुपर्छ भन्नेमा मेरो जोड छ । नेपालमा पछिल्लो समय हजारौँ मानिसहरूले मोबाइलको भरमा रोजगारी गरेर आफ्नो जीवीकोपार्जन गरिरहेका छन् । यस सन्दर्भमा मोबाइलको व्यापारलाई बचाउनुपर्छ, बिना सूचनाको क्रान्तिले नेपालको विकास हुन सक्दैन भन्ने मेरो धारणा छ । मोबाइलसँग सुरक्षाको विषय पनि जोडिएको छ । त्यसकारण सरकारले राजस्वसँग मात्रै भन्दा सुरक्षासँग पनि जोडेर हेरोस् भन्ने चाहाना छ । यो व्यवसायलाई बचाउनका लागि ‘ड्युटी जेरो’ र भ्याट रिफण्ड आउने पहिलाको जस्तै व्यवस्था गर्न जरुरी छ । एक्स्ट्रा ड्युटी र भ्याटले मोबाइलको उपभोक्ता मूल्य महङ्गो परिरहेको छ ।
तपाइँ नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (एनआईसीसीआई) को अध्यक्ष पनि हुनुहुन्छ । त्यसको कामकारबाही र प्रभावकारिताबारे केही बताइदिनुहोस् न ?
यो संस्था सन् २०१४ मा स्थापना भएको गैरनाफामुलक संस्था हो । म चाहिँ सन् २०२३ को सुरुवादेखि जोडिएको हुँ । मेरो श्रद्वेय दाजु राजेशकाजी श्रेष्ठले मलाई यो संस्थामा आवद्ध गराउन भूमिका खेल्नुभयो । यो संस्थाले नेपाल र इटालीबीचको अवसरहरूलाई केलाउने र कार्यान्वयन गर्ने काम गर्छ । इटाली युरोपको पावर हाउस हो । ठूलो बिजनेश सेन्टर पनि हो । तर, जर्मनी र फ्रान्सको छायाँमा परिरहेको छ ।
पछिल्लो समय इटालियन पर्यटकहरू पनि नेपालमा धेरै आउने गरेका छन् । धेरै इटालियन ब्राण्डहरू पनि नेपालमा आउन खोजिरहेका छन् । साथै नेपालमा उत्पादित मौलिक उत्पादन र ब्राण्डहरू इटालीको बजारसम्म पुर्याउनु हाम्रो मुख्य उद्देश्य छ । यसमार्फत नेपालका उत्पादनहरू इटाली मात्र होइन युरोपका सबै देशहरूमा पुर्याउन सकिन्छ र त्यसै अनुसार काम गरिरहेका छौँ ।
नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय कमिटीमा पनि तपाइँ निर्वाचित हुनुभएको छ । यो कार्यकालमा तपाइँले त्यो संस्थामार्फत गर्ने कामको प्राथमिकीकरण कसरी गर्नुभएको छ ?
नेपाल चेम्बर अफ कमर्स नेपालको व्यापारलाई सेभ गर्ने सबैभन्दा ठूलो संस्था हो, जुन ७२ वर्ष पुरानो छ । यसको चार्म मेटिन नदिनेगरी काम गर्ने मेरो अठोट छ । त्यसैअनुसार अघि बढ्ने छु । म पद ओगट्न मात्र संस्थामा जोडिएको होइन । संस्थाको हितमा काम गर्नु भनेको आफ्नो लागि मात्र होइन, सबैका लागि हुनेगरी काम गर्नु हो । हामीले राज्यसँग लड्न सक्दैनौँ, तर पोलिसी मेकिङमा उहाँहरूलाई गाइड गर्न सक्छौँ । गलत कुराको विरोध गर्न सक्छौँ । हामी व्यापारीले गर्ने त्यति नै हो । यद्यपि, त्यो पनि राइट टाइम, राइट कल र राइट कुराहरू उठाउनुपर्यो । जहिल्यै चुप बसेर र सहेर मात्र होइन, सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । हामी राजनीतिक इसारामा चल्न हुँदैन । म सबैसँग मिलेर काम गर्न चाहान्छु । हाम्रो सबै एपेक्स बडीहरूले आफ्नो उद्देश्य अनुसार अनरशीप लिएर काम गर्नुपर्ने जरुरी देखेको छु । यदि त्यसो गरिएन भने उद्योगी व्यवसायीका मुद्दाहरू स्थापित हुन सक्दैनन् ।
तपाइँ नेपालको युवा व्यवसायी । सन् २०२२ दक्षिण एशियाका उत्कृष्ट १० बिजनेस लिडरको सूचीमा समेत पर्न सफल हुनुभएको थियो । नेपालका अरु युवा र नवउद्यमीहरूलाई केही सल्लाह, सुझाव वा टिप्सहरू दिन चाहानुहुन्छ ?
चुनौती छन्, चुनौती देखेर भाग्ने होइन हामीले सामना गरेर श्रेष्ठता हासिल गर्नेतर्फ सोच्नुपर्छ । हाम्रो देशमा हरेक रिसोर्सहरू छन् तिनलाई प्रयोग गरेर आफू र मुलुकलाई समेत समृद्ध बनाउने योजना तय गर्नुपर्छ । ‘देश नराम्रो, विदेश राम्रो’ देखिने मात्रै हो, वास्तविकता होइन । किनभने म धेरै देश पुगेको छु, तर नेपाल जस्तो राम्रो देश अरु पाइनँ । संसार घुमेर हाम्रो विमानस्थलमा ल्याण्ड भइसकेपछि छुट्टै खालको ‘पिस अफ माइण्ड’ म पाउँछु, नेपाली खानामा जुन सन्तुष्टि पाइन्छ विश्वको कुनै पनि फाइभ वा सेभेनस्टार होटेलमा पाइँदैन ।
विशेषगरी युवा उद्यामीलाई म के भन्न चाहान्छु भने अहिले पनि हामीसँग धेरै अवसरहरू छन् । केही युवाहरू विदेश जानु बाध्यता पनि होला, सबैलाई रोक्न पनि सकिँदैन । रोक्ने हो भने त्यही किसिमको पोलिसी सरकारले अघि सार्नुपर्यो । तर, अहिले पनि राजनीतिक स्थिरता आउने, उत्पादनमूलक उद्योगहरूलाई प्रवर्द्धन गर्ने, विदेशी प्रोजेक्टहरू नेपालमा ल्याउने हो भने लगानी र रोजगारी सृजनाको ठूलो सम्भावना छ । किनभने विदेशी प्रोजेक्टहरू नेपालमा आउन चाहान्छन्, तर उनीहरूले उपयुक्त वातावरण देखिरहेका छैनन् । त्यसलाई सामान्य मात्रै सम्बोधन गरेर पोलिसी मेकिङमा काम गर्ने र हामीले नै केही सकारात्मक सन्देश प्रवाह गर्ने हो भने मेरो विचारमा नेपालमा जति पनि अन्तर्राष्ट्रिय कम्पनीहरू ल्याउन सक्छौँ ।
भारत र चीनको बीचमा बसेर अहिलेसम्म जति गर्नुपर्ने थियो त्यो गर्न सकेका छैनौँ । हामी राजनीतिक रूमा यता र उता ढल्किने मात्रै भन्दा पनि हाम्रो दुई छिमेकी मुलुकले गरिरहेको आर्थिक क्रान्तिलाई हेरेर सिक्यौँ भने पनि देश समृद्ध पार्न युरोप र अमेरिकातिर पुग्नै पर्दैन । गर्नुपर्ने धेरै छन् । समयलाई चिनौँ, अहिले पनि बिग्रिएको केही छैन, आँटेर काम गरौँ ।
तपाइँलाई केही समयअघि मात्रै कर्पोरेट खबर म्यागजिन र कर्पोरेट खबर अनलाइनले ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरेको थियो । खासगरी यस्ता अवार्ड तथा पुरस्कारहरूले व्यवसाय प्रवर्द्धन र व्यक्तिगत जीवनमा के–कस्तो प्रभाव पर्ने रहेछ ?
व्यक्तिले गरेको विभिन्न खालको काम र योगदानको कदर गरेर दिइने अवार्डले हाम्रो यात्रामा ठूलो इनर्जी मिल्छ भने समाजलाई पनि नयाँ सन्देश दिन्छ । तर, अवार्ड किन्ने होइन स्वःस्फूर्त हुनुपर्छ । स्वःस्फूर्त अवार्ड र सम्मानहरूले जिम्मेवारीबोध पनि गराउँछ ।
हेर्नुहोस् भिडिओ अन्तर्वार्ता–
यो अन्तर्वार्ता पनि पढ्नुहोस्–
‘कजरिया टायलको उत्पादन साउनदेखि थाल्छौँ, पहिलो वर्ष ४० प्रतिशत बजार ओगट्ने लक्ष्य छ’ (भिडिओ वार्ता)
FACEBOOK COMMENTS