काठमाडौं । भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने नाममा रकम असुल गरेको घटनामा गृह प्रशासन नै मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा भइरहेको मानव तस्करीमा संलग्नताको आरोपमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अधिकृत तीर्थराज भट्टराईलाई जेठ ७ गते पक्राउ गरेको थियो । उनै भट्टराईले भिजिट भिसाका लागि सेटिङ मिलाउने प्रयोजनार्थ दैनिक ५० लाख रुपैयाँसम्म गृह मन्त्रालयमा बुझाउने गरेको अख्तियारलाई बयान दिएपछि गृहमन्त्री लेखकमाथि नैतिक प्रश्न उठेको हो ।
गृह प्रशासन नै मानव तस्करीमा संलग्न रहेको आरोपपछि गृहमन्त्री लेखकको राजीनामासमेत माग भइरहेको छ । उनी सम्बद्ध दल नेपाली कांग्रेसभित्रैबाट समेत उनको राजीनामा मागिएको छ भने विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।
यसबीच आज आइतबार यही विषयमा छलफल गर्न सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ भने कांग्रेसले पनि भोलि सोमबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ ।
तर, मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्नाताको आरोप लाग्दासमेत गृहमन्त्री लेखक भने राजीनामा दिने विचारमा देखिँदैनन् । उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै छानबिनमा सघाउने आश्वासनमै यसलाई बिट मार्न खोजेका छन् । उनको सो रणनीतिलाई एमालेका मन्त्रीहरूले पनि साथ दिँदै ‘कर्मचारी पक्राउ पर्दा मन्त्रीले राजीनामा दिननपर्ने’ तर्क गरिरहेका छन् ।
विगतमा कांग्रेस प्रतिपक्षमा रहँदा कतिपय मन्त्री (पूर्वगृहमन्त्री रवि लामिछाने) माथि अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना हुँदा चर्को स्वरमा नैतिकताका आधारमा राजीनामा मागेका लेखक आफैँ भने नैतिकता प्रदर्शन गर्नबाट चुकेका छन् । राजीनितक वृत्तमा शालीन नेताको छवि बनाएका लेखकले वास्तविकतामा भने दोहोरो चरित्र देखाएको भन्दै सार्वजनिक वृत्तमा उनको चर्को आलोचना भइरहेको छ ।
FACEBOOK COMMENTS