काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाउने र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनर्विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।
बिहीबार अन्तरपार्टी महिला सञ्जालका पदाधिकारीहरूसितको भेटघाटमा मन्त्री लेखकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।
उनले भने, ‘महिनावारीमा ठूलो अन्धविश्वासले काम गरेको छ । यसको निर्मूलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तरपार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।’
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । उनले भने, ‘महिलाहरूको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु । अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।’
सो क्रममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरू बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
FACEBOOK COMMENTS