काठमाडौं । सरकारले राजावादी नेता तथा सांसदहरूको पर्सनल सेक्युरिटी अफिसर– पीएओ (अङ्गरक्षक) तत्काल फिर्ता नगर्ने भएको छ ।
आज बुधबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले राजावादी नेताहरूले आन्दोलन नरोकेसम्म पीएसओ फिर्ता नगर्ने बताएका हुन् ।
उक्त बैठकमा राप्रपाका नेता बुद्धिमान तामाङले आफूहरूको पीएसओ फिर्ता बोलाउनु पर्नाको कारणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए । सो को जवाफमा गृहमन्त्री लेखकले भने, ‘हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’ राजावादीहरूकै आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाउनु परेको तर्क गृहमन्त्री लेखकको थियो ।
उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने र संविधान नै फाल्ने काममा कोही पनि नलाग्न चेतावनी पनि दिए । राजावादी नेताहरूले आन्दोलन नछाडेसम्म पीएसओ उपलब्ध नगराउने अडान उनको छ ।
राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित ‘जनआन्दोलन’ थालेपछि सरकारले राजावादी नेता तथा सांसदहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरेको थियो ।
FACEBOOK COMMENTS