उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको छः अर्थमन्त्री खनाल
कर्पोरट खबर
9:15 pm, बुधबार, पुस ९, २०८२
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।
मोरङ उद्योग व्यापार सङ्घद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को आज यहाँ उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि नआउने उल्लेख गरे ।
करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा प्रणाली स्थापना गर्ने कार्यअन्तर्गत आज मोरङको केराबारीमा सो कार्यालय स्थापना भएको जानकारी उनले दिए ।
अर्थमन्त्री खनालले आयातमा देखिएका समस्या निराकरण गर्न सरकार तत्पर रहेको बताउँदै व्यसायीलाई विश्वास गर्नसकेमा राजस्व वृद्धि हुने स्पष्ट पारे ।
उनले जेनजी आन्दोलनका क्रममा मुलुकमा ८४ अर्बको नोक्सानी भएकाले पुनः त्यस्तो घटना दोहोरिन नदिन नागरिक सचेत हुनुपर्ने धारणा राखे ।
मन्त्री खनालले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने र यसमा शङ्का नगर्न आग्रह गरे ।
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व रहेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यशीलताको विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS