काठमाण्डौं । कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ धनगढी क्षेत्रमा आज बिहान १०ः३० बजेदेखि स्थानीय स्वास्थ्य तालिम केन्द्रको भवनमा मतगणना सुरु भएको छ । सर्वदलीय , सर्वपक्षीय बैठकमा सहमति जुटाउन समय लाग्दा यो क्षेत्रको मतगणना ढिलो गरी सुरु भएको हो । जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १,२ र ३ मा नागरिक उन्मुक्ति पार्टी मतगणनामा सुरुदेखि नै अग्रस्थानमा छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा उक्त पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले पाँच हजार चार सय ९० मत पाएकामा नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार पाँचसय ९३ मतसहित पछ्याएका छन् । क्षेत्र २ मा नागरिक उन्मुक्ति पार्टीकै अरुणकुमार चौधरी एक हजार छ सय ६० मतसहित अगाडि रहँदा नेकपा माओवादी केन्द्रका भगत बडूवालले एक हजार दुई सय ६९ मतसहित पछ्याइरहेका छन् ।
क्षेत्र ३ मा भने नागरिक उन्मुक्ति पार्टीकोे अग्रतालाई फराकिलो हुँदै गएको छ । सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले मतगणनाको पछिल्लो परिणाम अनुसार २० हजार दुई सय ३४ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १४ हजार नौ सय ४६ मतसहित पछ्याइरहेका छन् । निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका छन् । नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन् ।
कांग्रेसका बलायरले पाँच हजार एकसय मत पाउँदा भट्टले पाँच हजार दुईसय ७७ मत पाएका छन् । गएरातिदेखि गोदावरी नगर क्षेत्रमा मतगणना सुरु भएसँगै भट्टले बलायरभन्दा बढी मत पाएका हुन् । क्षेत्र ४ को पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिकाका सबै वडा र मोहन्यालका दुई वडाको मतगणना सकिएको जनाइएको छ । भट्ट एमालेका सुदूरपश्चिम इन्चार्ज र बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति हुन् ।
FACEBOOK COMMENTS