काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा वकालत गर्दै आएको विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमै आन्दोलन गर्ने भएको छ ।
आज बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले पार्टी सङ्गठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ ।
यस्तै, वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । उपत्यकाका प्रत्येक वडामा सङ्गठन मजबुत बनाउँदै आन्दोलन केन्द्रित गर्ने निर्णय अध्यक्ष लिङ्देनले भएको बताए ।
तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाइका लागि राजनीतिक एवम् कानुनी लडाइँ सशक्त रूपमा अगाडि लगिने उनको भनाइ छ ।
FACEBOOK COMMENTS