काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वको एकलौटी निर्णयविरुद्ध आन्तरिक विवाद थप चर्किएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदीलाई हटाई रोशन कार्कीलाई नियुक्त गर्नु र प्रवक्ता सगुन सुन्दर लावतीलाई पदमुक्त गरेपछि राप्रपामा असन्तुष्टि चुलिएको हो।
यसअघि अनुशासन समितिको अध्यक्ष रहेका सुवेदी हाल राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका संयोजक समेत रहेका छन्। सुवेदीले आफूलाई विधानविपरीत हटाइएको भन्दै उजुरी दिन शनिबार निर्वाचन आयोग पुगेका छन्। सुवेदीसँगै राप्रपाका महामन्त्री धवलशम्शेर राणा पनि निर्वाचन आयोग पुगेका छन्।
पार्टी स्रोतका अनुसार महामन्त्री राणाको नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी सुरु गरिएको छ। शनिबार राणाको नक्सालस्थित सचिवालयमा बसेको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्यको सहभागिता रहेको र उनीहरूले आयोगमा उजुरी दिने निर्णय गरेका थिए।
विरोधी समूहले अध्यक्ष लिङ्देनमाथि पार्टी विधानविपरीत निर्णय गर्दै आएको आरोप लगाएका छन्। असन्तुष्ट समूहमा राणा, पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, पूर्वप्रवक्ता सगुन सुन्दर लावती लगायतका नेताहरू सक्रिय छन्।

विरोधी नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको भन्दै छिट्टै थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।
