काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा। तोसिमा कार्कीले बुधबार भैरहवामा सम्पन्न पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको बारे स्पष्ट गरेकी छन् ।
सांसद तोसिमा संसदीय दलको बैठकमा उपस्थित नभएको विषय मिडिया र सामाजिक सञ्जालमा उठेपछि उनले स्पष्ट गरेकी छन् ।तोसिमाले आफ्ना बुबा आमा कार दुर्घटनामा परेको कारणले काठमाडौँ उपत्यका छोड्न नसकेको स्पष्ट गरेकी हुन् ।उनले भनेकी छन्-रुपन्देहीमा भइरहेको संसदीय दलको बैठकमा अनुपस्थितीको समाचारहरू बनाउन भ्याइसक्नुभएछ । व्यक्तिगत र पारिवारिक विषय सामाजिक सञ्जालमा नराखौं सोचेको थिए, तर यहाँहरुबाट टिकाटिप्पणी र संकास्पद प्रश्न नै सुरु भएपछि मैले भन्न कर लाग्यो । म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, करिब १५ -१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो । कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पुर्याउनुभएको रहेछ ।
म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँको एचडीयुमा करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु । बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ । म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु । यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनता माझ पनि समय मिलाउदै निरन्तर उपस्थित भइरहेकोछु तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।
अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदीय दलको नेता, उपनेता, कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ । तर मलाई पटकपटक प्रश्न आउन र टिका टिप्पणी सहित समाचार नै बन्न थालेपछि मैले यहाँहरू सबैमा जानकारी गराउन बाध्य भए ।त्यो रातिको समयमा, त्यस्तो आकस्मिक घडीमा मेरो बुवाआमालाई दुर्घटना भएको कारको ढोका फोडेर बाहिर निकाली उद्धार गर्नुहुने र अस्पताल पुर्याईदिनुहुने युवाहरू तथा प्रहरी साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
FACEBOOK COMMENTS