मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमीरप्रेमिकासँग निकटता बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । मन फुरुङ्ग हुने दिन छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ ।
FACEBOOK COMMENTS