काठमाडौं । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना आफूहरूले पूरा गर्ने बताएका छन् । परिवर्तनको उद्घोष सभालाई बुधबार धनगढीमा सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।
‘सुदूरपश्चिमबासीले देखेको सपना पूरा गरेरै छाड्छौँ । स्वास्थ्य,शिक्षा लगायतका समस्या समाधान गर्छौँ । दुई वर्षमा बन्ने बाटो २० वर्षमा बनेन । त्यो पूरा गर्ने हो हाम्रो एजेन्डा हो’, उनले भने, ‘कांग्रेस, एमाले हिँड्ने बाटो बनाउने हो । बडीमालिका यही छ किन चाहियो स्विजरल्याण्ड ? यहाँ बोल्न आएको होइन, भोट माग्न आएको होइन काम गर्न आएको हो रास्वपा ।’ उनले भोट नदिएपनि रास्वपाले काम गरेर देखाउने बताए ।
ि’बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ।
माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ,’ वरिष्ठ नेता बालेनले भने। वरिष्ठ नेता बालेनले सुदूरपश्चिमलाई विकासको दृष्टीले नजिक बनाउने प्रतिबद्धता व्यक्त गरे। अघिल्ला सरकार र त्यसमा सहभागी दलहरूले बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज नदेखेर स्वीट्जरल्याण्डको कुरा गर्ने गरेको बालेनको भनाइ छ।
’देशलाई स्वीटजरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहिँ छ। किन बनाउनुपर्यो। रामारोशन यहिँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। किन बनाउन पर्यो स्वीट्जरल्याण्ड।

माल भाको चाल नपाको पर्यौं। भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग।सुरूमा गीत बज्नुपर्यो, त्यसपछि आवाज बज्छ त्यसपछि माग पूरा हुन्छ,’ उनले भने।
