काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादी मा राष्ट्रिय भेला गर्दैछ । भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नुहुने छ। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ।
आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ। राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन्।
FACEBOOK COMMENTS