काठमाडौं । जनतामा वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ ।
पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो ।
पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ढाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ । बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ ।
गत चैतमा भएको उपनिर्वाचनताका रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपियाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो ।
उक्त अडिओमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपियाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको प्रष्ट सुनिएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS