काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको बताउडिया प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् ।
बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले प्रदेशहरू सुदृढ भए मात्र यो व्यवस्था सुदृढ हुने बताएका हुन् ।
उनले भने ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ।’
प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनले बताए ।
प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औल्याए ।
सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले कानुन नियममा रहेका अन्यौल र प्रदेशमा भोग्नुपरेका कठिनाइ बारे जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS