काठमाडौं । हालै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले एकसाथ पाँचवटा काउन्टर सञ्चालनमा ल्याएको छ ।
योसँगै विमानस्थल परिसरमा हुने सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकका ती काउन्टरबाट गरिने भएको छ । विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्नकै लागि बैंकले आफ्नो सेवा विस्तार गरेको बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै बैंकले ती काउन्टरहरू पनि सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवासुविधा प्रवाह गर्न बैंकले सोमबारदेखि पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ । काउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैंकिङ्ग करोबार गर्न सकिने छ ।
देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
FACEBOOK COMMENTS